बिहीबार , साउन २१ गते २०८३

वामदेव गौतमलाई नेपालको जवाफ : बालुवा पेलेर तेल निस्किँदैन, कोसिस गर्नुहोस्

वामदेव गौतमलाई नेपालको जवाफ : बालुवा पेलेर तेल निस्किँदैन, कोसिस गर्नुहोस्

अखबार दैनिक
शनिबार, फागुन १५ २०७७
  • वामदेव गौतमलाई नेपालको जवाफ : बालुवा पेलेर तेल निस्किँदैन, कोसिस गर्नुहोस्

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन्। काठमाडौंमा शनिबार आयोजित शिक्षकहरूको राष्ट्रिय भेलामा अध्यक्ष नेपालले अहिले पनि वामदेव गौतमले केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताए।

    कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबभन्दा पहिला गौतमले नै मागेको उल्लेख गर्दै अहिले फेरि ओलीलाई सुधार्न उनले नै कोसिस गरिरहे पनि आफूले बालुवा पेलेर तेल निस्किँदैन तर पनि कोसिस गर्नुस् भनेको बताए।

    उनले भने, ‘दुई तिहाइको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भङ्ग गरिदिनुभयो। किन भङ्ग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर। यो प्रधानमन्त्री हटाउने को हो थाहा छ ? वामदेव गौतम हो। फेरि उहाँ (प्रचण्ड)लाई दोष जान्छ सबैभन्दा बढी होइन, साँचो कुरा म तपाईंहरूलाई बताउँछु। यो पहिलो प्रस्ताव राख्ने केपी ओली मान्छे खराब मान्छे हुन् भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ वामदेवले। ४० मिनेट भाषण गर्नुभयो केपी ओली जस्तो रद्दी मान्छे धर्तीमा कोही पनि छैन भनेर। अब अहिले पनि उहाँ फेरि कोसिस गर्दै हुनुहुन्छ केपीलाई सुधार्न। अब उहाँ गर्नुहोस् मैले भनेको छु यो बालुवा पेलेर तेल निस्किँदैन कोसिस गर्नुहोस्।’

    अध्यक्ष नेपालले अब केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारे। बरु ओली प्रवृत्तिको विरूद्धको आन्दोलनमा सहभागी भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने बताए।

    उनले भने, ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन। कुनै भ्रममा नपर्नुस्। केपी ओलीका मानिसहरूको आँखामा बाम लगाएर निकालेको आँसुको कुनै अर्थ छैन। ख्याल गर्नुहोला। बाम लगाएर आँसु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् यिनलाई मूर्ख बनाएर पठाइयो भन्छन्। त्यसो भएकोले तपाईंहरू यस्ता कुराको भ्रममा नपर्नुस्। अब हामी के गरिरहेका छौं भन्दा सबै जो आन्दोलनमा सहभागी भएकाहरूलाई साथमा लिएर बरू जाऔं संयुक्त सरकार बनाऔं भनिरहेका छौं।’

    अहिले प्रतिनिधि सभा पुन:स्थापना भए पनि पूरै लडाइँ जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताए। उनले भने, ‘एउटा लडाइँ जित्यौं, सिंगो लडाइँ जित्न बाँकी छ। एउटा लडाइँ जितेका छौं। अर्को लडाइँ केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म लडाइँ गर्नुछ।’

    केपी ओलीलाई पूर्वएमालेको कुनै माया नभएको पनि अध्यक्ष नेपालले बताए। ओलीले अहिले मदनभण्डारी फाउण्डेसनको गुट चलाएको आरोप समेत अध्यक्ष नेपालले लगाए। उनले भने, ‘केपी ओलीलाई एमालेको कुनै माया छैन। कम्युनिष्ट पार्टीको कुनै माया छैन। केपी ओली भनेको मदन भण्डारी फाउण्डेसन गुटको नेता हुन्।’

    बालुवाटारमा बैठक हुँदा उपस्थित नहुने ओली अहिले फूर्तिका साथ देशभर दौडिरहेको समेत बताए। यसबाट पार्टीप्रति ओलीको इमानदारिता थिएन भन्ने स्पष्ट भएको पनि अध्यक्ष नेपालले बताए।

    उनले भने, ‘केपी ओली यो तरिकाले जाँदा पार्टीभित्र उहाँले छलफल बहस बन्द गर्नुभयो। बैठक त्यहीँ छ बालुवाटारमा, बालुवाटार बाहिर कहीँ नजाने मान्छे अहिले हेर्नुहोस् त फूर्ति कहिले कहाँ पुग्या छ कहिले कहाँ पुग्या छ। बैठक भनेपछि धुम्बाराहीमा नआउने मान्छे अहिले त कुद्या छ कुद्या छ। भनेपछि पार्टीलाई कति मर्यादित ठानेको। आफ्नो पूरै पछिपछि लाग्नुपर्छ भन्ने प्रवृत्तिको कति पक्षपोशण भएको कुरालाई पुष्टि गर्दैन त्यसले। त्यसैगरी त्यहीँ निवास छ, बेडरूम छ, त्यहीँ बैठक बसेको छ बैठकमै नआउने। बैठकमा ल्याउनका लागि प्रचण्डले बैठक छोडेर जाने फेरि, कहिलेकाहीँ हामीलाई पनि सँगै जाऊँन भन्ने। एउटाको शक्तिले पुगेन र दुई वटाले सकिन्छ कि भनेर। यस्तो ज्याद्रो मान्छेलाई हामीले चलाउन सकेनौं।’

    अहिले केपी ओलीलाई बिदा गरेजस्तै ओली प्रवृत्तिलाई पनि सबैले त्याग्नुपर्ने बताए। अहिले सबै क्षेत्रबाट नेताहरूलाई ओली प्रवृत्ति त्यागेर अगाडि बढ्न सुझाव आएको पनि अध्यक्ष नेपालले बताए।

    उनले भने, ‘केपी ओलीलाई बिदा गर्‍यौं। केपी प्रवृत्तिलाई हामीले बिदा गर्ने कि नगर्ने ? अहिलेका नेताहरूलाई चेतना भया भनेर हामीलाई पनि भन्ने गर्नुहुन्छ। पत्रिकामा पनि पढ्दै थिएँ । होस गर्नुहोस् है तपाईंहरूमा पनि केपी प्रवृत्ति नउदाओस्। हामी अवश्य पनि सतर्क छौं।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार