बिहीबार , साउन २१ गते २०८३

बौद्धकालीन सम्पदाको अन्वेषण जरुरी : मुख्यमन्त्री पोखरेल

बौद्धकालीन सम्पदाको अन्वेषण जरुरी : मुख्यमन्त्री पोखरेल

अखबार दैनिक
बुधबार, जेठ १२ २०७८
  • बौद्धकालीन सम्पदाको अन्वेषण जरुरी : मुख्यमन्त्री पोखरेल

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले बौद्धकालीन सम्पदाको अन्वेषण गर्दै मानव जातिको अमूल्य निधिका रूपमा संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । आज २५६५औँ बुद्धजयन्तीका अवसरमा शुभकामना दिँदै उनले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा रहेका धेरै स्थलहरुको अवस्थाका बारेमा जानकारी हुनसकेकाले माटोमुनि दबिएर रहेका ती सम्पदास्थलको अन्वेषण गरी संरक्षित गर्नु आवश्यक रहेको बताए ।

    बुद्धकालीन सम्पदाका रूपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा, अरौराकोटलगायतका स्थलको खोज, अनुसन्धान तथा पर्यटकीय हिसाबले ती क्षेत्रको विकास जरुरी रहेको उनको भनाइ छ ।

    मुख्यमन्त्री पोखरेलले बौद्ध सम्पदास्थलको खोज र अनुसन्धानका लागि काम अघि बढेको जानकारी गराउँदै उनले यी महत्वपूर्ण सम्पदास्थलमा पूर्वाधार तयार गरी पर्यटन प्रवर्द्धनका लागि बृहत्तर ढङ्गले काम अघि बढाउनुपर्ने जनाए । ‘पर्यटन प्रवर्द्धनमार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ हामी योजनाबद्ध रूपले अघि बढिरहेका छौँ’, मुख्यमन्त्री पोखरेलले उल्लेख गरेका छन्।

    मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसको जोखिमका कारण बुद्धजयन्तीमा लुम्बिनीमा औपचारिक कार्यक्रम आयोजना नगरिएको जानकारी गराए । ‘आजभन्दा २५६५ वर्षअघि अर्थात् इसापूर्व ५६३ मा लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ । मानव कल्याण, अहिंसा र शान्तिको खोजीका लागि बुद्धले २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकारसहित गृह त्याग गर्नुभयो”, शुभकामना सन्देशमा भनिएको छ ।

    हिंसा र दुःखको कारण तथा समाधानको उपायको खोजीमा गृह त्याग गर्नुभएका सिद्धार्थ गौतम बुद्धले भ्रातृत्व र मानव कल्याणका लागि समाजलाई महान दार्शनिक विचारबाट दीक्षित गरेको र मानिसलाई सत्कर्मको बाटोमा हिँडाउन सफल भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले बुद्धका उपदेशहरु आज बुद्ध दर्शनका रूपमा स्थापित भएको बताए । बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानवजातिकै लागि अमूल्य निधि भएका उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार