बिहीबार , साउन २१ गते २०८३

उम्मेदवार घरदैलोमा, युवाहरू विदेशमा

उम्मेदवार घरदैलोमा, युवाहरू विदेशमा

अखबार दैनिक
बिहीबार , कात्तिक १७ २०७९
  • उम्मेदवार घरदैलोमा, युवाहरू विदेशमा

    कार्तिक १७ काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भोट माग्न दलका उम्मेदवार मतदाताको घरदैलोमा गएरहेका बेला गड्डाचौकी नाकाबाट थुप्रै युवा रोजगारीका लागि भारत जाने क्रम बढेको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिए । दसैँ तिहार मनाउन गाउँ फर्किएका उनी चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ लागेका छन् ।

    चौधरीसँगै बेलौरी र लालझाडीका १७ युवा रोजगारीका लागि भारत लागेका हुन् । गड्डाचौकी नाकामा पछिल्लो केही दिनयता कामको लागि भारत जानेको सङ्ख्या बढेको छ । ‘चुनाव आएर हामीलाई के नै हुन्छ र नेताहरु भोट मागेपछि फर्किदैनन्,’ रोजगारीको खोजीमा भारत जान लागेका चौधरीले भने, ‘हामीलाई त भारत नगई सुख छैन, नत्र परिवार कसरी पाल्ने ।’


    उनले चुनावमा मात्रै आश्वासन दिने नेताले स्वदेशमै रोजगारीको व्यवस्था गर्न नसक्दा भारत जानुपर्ने बाध्यता रहेको बताए । ‘आफ्नै ठाउँमा रोजगारी पाएको भए किन भारत जानुपथ्र्यो र’, उनले भने, ‘भारत नगई खानपानको जोहो गर्न सकिँदैन ।’

    आर्थिक अवस्था कमजोर भएकाले पढाइ छोडेर रोजगारीका लागि भारत जान लागेका चौधरीले त्यहाँ लामो समयदेखि मजदुरी गर्दै आएका छन् ।

    ‘भारतको बद्रीनाथमा हाम्रो गाउँका २५.३० जना मजदुरी गर्छौं,’ उनले भने, ‘चाडपर्व मनाएर फेरि भारत जान लागेका छौँ, भोट हाल्न मन त थियो बाध्यताले दिएन ।’

    चौधरीसँगै कामको खोजीमा जान लागेका बेलौरी नगरपालिका–५ का धर्मा चौधरी पनि स्वदेशमा रोजगारीको सिर्जना नहुँदा भारतको भर पर्नुपरेको बताउँछन् ।

    ‘त्यहाँ गएर मजदुरी गर्न साह्रै दुःख हुन्छ, तर जानै पर्ने बाध्यता छ’, उनले भने, ‘अहिले पनि नेताहरु रोजगारी दिन्छौँ भनेर गाउँमा भोट माग्दै छन, हेरौँ यसपालि के गर्छन् ।’ नेताहरु अहिले गाउँमा भोट माग्न आउँदा आफूहरूका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरेको बताए ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तिहार सकिएपछि रोजगारीका लागि भारत जानेको सङ्ख्या बढेको छ । प्रहरीको तथ्याङ्कअनुसार मङ्गलबार ८९ जना रोजगारीका लागि भारत गएका छन् । बुधबार सो सङ्ख्या बढेर एक सय ८० पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार