बिहीबार , साउन २१ गते २०८३

मुक्तिनाथ हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहर : राष्ट्रपति भण्डारी

मुक्तिनाथ हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहर : राष्ट्रपति भण्डारी

अखबार दैनिक
शुक्रबार, कात्तिक १८ २०७९
  • मुक्तिनाथ हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहर : राष्ट्रपति भण्डारी

    कार्तिक १८ मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विश्वभरिका हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरका रुपमा रहेको बताउनुभएको छ । 

    आज मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतम बुद्धको प्रतिमा अनावरण एवं भगवान् विष्णुको प्रतिमा शिलान्यासपछि राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र नेपालकै विशिष्ट धार्मिक एवं सांस्कृतिक सम्पदा रहेको उल्लेख गर्नुभयो ।


    उहाँले बुद्धको प्रतिमा अनावरण र भगवान् विष्णुको प्रतिमा शिलान्यास गर्न पाउनुलाई आफूले ऐतिहासिक अवसरका रुपमा लिएको पनि बताउनुभयो । 

    “मूर्ति अनावरण तथा शिलान्यासमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्दछु”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यसबाट हिन्दू र बौद्ध समुदायको साझा आस्थाको केन्द्रका रुपमा रहेको मुक्तिनाथ क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्त्व अझ बढ्न जाने मैले विश्वास लिएकी छु ।”

    बहुसाँस्कृतिक आयाम बोकेर सदियौँको इतिहास समेटेको मुक्तिनाथ क्षेत्र र मुक्तिनाथ मन्दिरको महत्त्वलाई पौराणिक ग्रन्थले ठूलो सम्मानका साथ उल्लेख गरेको उहाँको भनाइ थियो । राष्ट्रपति भण्डारीले भौगोलिक, सामाजिक र सांस्कृतिक हिसाबले मुस्ताङ विशिष्ट रहेको बताउनुभयो । 

    “मुस्ताङमा रहेका धार्मिक, सांस्कृतिक सम्पदा हाम्रा अमूल्य निधी हुन्, यिनीहरूको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन हुनुपर्छ, यसबाट प्राप्त आर्थिक लाभ यहीँका जनताको सुख र समृद्धिका लागि सदुपयोग गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

    उहाँले मुस्ताङका धार्मिक तथा पर्यटकीय क्षेत्रको भौतिक तथा पूर्वाधार विकासमा सङ्घ, प्रदेश र स्थानीय तहले समन्वयकारी पहल लिनुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति भण्डारीले मित्रराष्ट्र चीनसँग व्यापारिक सम्पर्क स्थापित गर्न सहज हुने कोराला नाकाले मुस्ताङलाई अर्को परिचय दिएको बताउनुभयो । 

    “हाम्रा उत्पादनका लागि सहज बजार हुने दुई देशका बीचमा स्थल मार्ग हुँदै व्यापार विस्तार गर्ने नयाँ सम्भावना कोराला नाकाले खोल्ने भएकाले स्थल मार्गबाट नाका सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्दछ”, उहाँले भन्नुभयो ।

    राष्ट्रपति भण्डारीले शुक्रबार बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजासमेत गर्नुभएको थियो । मन्दिर परिसरमा रहेका १०८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनभयो ।

    राष्ट्रपतिले मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन गर्नुभएको जनाइएको छ । 

    गैरआवासीय नेपाली सङ्घका पूर्व उपाध्यक्ष एवं उद्यमी सोनाम लामाको निजी लगानीमा मुक्तिनाथमा गौतमबद्धको मूर्ति निर्माण गरिएको थियो । भगवान् विष्णुको मूर्ति पनि उहाँकै लगानीमा बन्न लागेको हो । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार