बिहीबार , साउन २१ गते २०८३

परिवर्तन विरोधीको प्रतिकार गर्न विद्यार्थीलाई प्रचण्डको आह्वान

परिवर्तन विरोधीको प्रतिकार गर्न विद्यार्थीलाई प्रचण्डको आह्वान

अखबार दैनिक
सोमबार, भदौ ३० २०७६
  • भदौ ३०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गरेका छन्।
    पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा सोमबार नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको आधार तय गर्ने प्रक्रियामा हामी छौं, एकीकृत पार्टीले पनि त्यही भनेको छ, तर यो काम कम चुनौतीपूर्ण छैन। चारैतिरबाट पूँजीवादी र साम्राज्यवादीले घेरेका छन्। व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति पनि हामीमा छ। तर सात दशक लामो संघर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै मार्न सकिन्छ कि भनेर कसैले भ्रम नपाले हुन्छ।’
    उनले अराजकता मच्चाउनेहरूमा छटपटी देखिए पनि परिवर्तनलाई रक्षा गर्दै समाजवादोन्मुख यात्रामा अघि बढ्ने संकल्प गर्न आवश्यक भएको बताउँदै अराजकतावादीविरुद्ध सजग रही प्रतिकार गर्न आग्रह गरे। प्रचण्डले त्यस्ता अराजकतावादी को हुन् भन्ने खुलाएनन्।
    उनले भने, ‘हत्केलाले सूर्य छेक्न खोज्न सम्भव छैन। त्यो दुस्साहस मात्र हुनेछ। जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई आमजनताको भरोसा जित्न सक्ने आस्थाको केन्द्र बनाउने अभियानमा अनुशासित र जिम्मेवार रूपमा लागौं।’ अध्यक्ष प्रचण्डले नेता बोगटीलाई आफूहरुले जहाँ जहाँ अप्ठ्यारो र कठिनाइ हुन्थ्यो, त्यहाँ त्यहाँ खटाउने गरिएको र उनले मूल नेतृत्व र नीतिलाई सधैँ सहयोग गर्नुभएको स्मरण गरे। पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेता बोगटी अरु पार्टीसँग पनि सुमधुर सम्बन्ध बनाउन सक्ने त्यागी र निष्ठावान नेता भएको र उनको त्यो व्यक्तित्वलाई स्मरण गरेर आफूलाई सही मार्गमा अगाडि बढाउनु आजको कार्यभार भएको बताए। तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री बोगटी नुवाकोटका पूर्वसांसद थिए। उनको २०७१ साल भदौ ३० गते निधन भएको थियो। कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, नेता अमीक शेरचनलगायतले बेगटीप्रति श्रद्धाञ्जलि व्यक्त  गरेका थिए। रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार