२४ असारको बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ अर्थात् छोरी तथा स्वकीय सचिव गंगा दाहालका श्रीमान् जीवन आचार्य कोशी प्रदेशको आर्थिक मामिलामन्त्रीमा नियुक्त भए । २२ असारमा आचार्यलाई मन्त्रीमा दोहोर्याउन नहुने बलियो मत कोशी प्रदेशको माओवादी संसदीय दलमा देखियो । आचार्यको सट्टा नयाँ अनुहारलाई अवसर दिनुपर्ने र पार्टीका पुराना नेतालाई मन्त्री पठाउने अडान केही सांसदहरूको थियो । सोही कारण २२ असारमा मुख्ममन्त्री उद्धव थापालाई माओवादीले मन्त्रीको नाम दिन सकेन ।
त्यसपछि ज्वाइँ आचार्यले बालुवाटारको बलमा २४ असारमा पासामात्र पल्टाएनन्, पुराना र अवसरको दाबीमा रहेका नेताहरूलाई पाखा लगाएर बढुवा भएर मन्त्री भए । माओवादीको कोशी प्रदेश संसदीय दलका सांसदहरू निरीहझैँ भए, आचार्यका अगाडि । त्यही कारण उदयपुरबाट निर्वाचित प्रदेश सांसद नारायण बुर्जा मगरले सार्वजनिक रूपमै राजीनामा दिने मनस्थिति बनाएको बताएका छन् ।
खासमा प्रचण्डले आफन्तलाई अवसर दिएको यो पछिल्लो उदाहरण मात्रै हो । त्यसैले अहिले माओवादीका नेताहरूले भन्न थालेका छन्- नेकपा माओवादी केन्द्र अर्थात् प्रचण्ड (परिवारवादी) ।
प्रचण्डको परिवार मोहको कथा तिनै आचार्यबाट सुरु गरौँ ।
१९ असार २०७९ मा अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य केन्द्रीय सदस्य मनोनीत भए । केन्द्रीय समितिको तेस्रो बैठकमा उनीहरूको नाम सार्वजनिक भएको हो । त्योभन्दा अघि नै प्रचण्डले उनीहरूको नाम मनोनीतको सूचीमा राखेका थिए । तर, बैठकमा उनीहरूको नाममा विरोध भएपछि केही महिना छलेर प्रचण्डले दाहाल र आचार्यको नाम सार्वजनिक गरेका हुन् ।
बैठकमा केन्द्रीय सदस्यको सूचीको ३ सय १३औँ नम्बरमा गंगा दाहाल र ३ सय १८औँ नम्बरमा ज्वाइँ आचार्यको नाम राखेर थप केन्द्रीय सदस्यको सूची सार्वजनिक भएको थियो । उक्त बैठकमा यी दुई नाम आए पनि विरोध गर्ने हिम्मत कसैले पनि जुटाएनन् । प्रचण्डका ज्वाइँ आचार्यको माओवादीमा लगानी भनेकै प्रचण्डकी छोरी गंगा दाहालसँग बिहे हुनु हो ।
राजनीतिक रूपमा माओवादीमा नजोडिएका आचार्यले जुन दिन गंगासँग सम्बन्ध विस्तार गरे, त्यही दिनदेखि आर्थिक र राजनीतिक रूपमा फलिफाल हात पारे । गंगा दाहालसँग सम्बन्ध जोडिनुअघिसम्म आचार्यले ठमेलमा सामान्य व्यापार गर्दथे । प्रचण्ड नयाँ बजार बस्ने ताका गंगा दाहालहरू ठमेल घुम्न आउँदा आचार्यसँग चिनजान भएको हो । त्यतिबेलासम्म कांग्रेसको सामान्य राजनीतिमा जोडिएका आचार्य गंगासँगको बिहेपछि मात्रै माओवादी भएका हुन् ।
माओवादीमा जोडिनेबित्तिकै अवसर हात पार्न थालेका आचार्यले विवादका बीच २०७४ को प्रदेशसभाको चुनावमा टिकट पाएका थिए । हुनलाई त्यतिबेला संघकै टिकट पाइसकेका थिए तर एमालेसँगको गठबन्धनमा मोरङ ६ एमाले नेता लालबाबु पण्डितको भागमा परेपछि आचार्य प्रदेशमा झरेका हुन् । मोरङमा चुनाव हारेका आचार्य लगत्तै उपराष्ट्रपति नन्दबहादुर पुनको विज्ञ सल्लाहकारका रूपमा जागिर खान आएका थिए । अवसरको खातमा रहेका आचार्यले प्रचण्डकै जोडबलमा २०७९ मा पनि प्रदेशसभाको टिकट पाए ।
कांग्रेससँगको गठबन्धनमा चुनावी जित निकालेका आचार्यले सुरुमै मन्त्री बन्ने मौका पनि पाए । प्रदेशसभामा दुईपटक सांसद भएर आएका नेताहरूले अवसर नपाउने तर प्रचण्डको ज्वाइँ भएकै कारण आचार्यले पहिलो लटमै मन्त्री हुने मौका पाए । एमालेसँगको गठबन्धन भत्किएपछि दोस्रो चरणमा कांग्रेससँग भएको गठबन्धनको सरकारमा पनि आचार्य नै दोहोरिए र प्रदेशको आर्थिक मामिलामन्त्री भए । आचार्यको सट्टा नारायण बुर्जा मगर, देवकुमार चापागाईंलगायत सांसदले मन्त्रीको दाबी गरिरहेका थिए ।
प्रचण्डको जोडबलका अघि निमुखाजस्तै भए, उनीहरू । त्यसैकारण प्रदेशसभामा दोस्रोपटक सांसद भएका उदयपुरका बुर्जा मगरले आचार्यले दोस्रोपटक मन्त्रीको शपथ खाएलगत्तै प्रदेशसभाबाट राजीनामा दिनेसम्मको अभिव्यक्ति दिएका छन् ।
पार्टीमा खास भूमिका नभएकी गंगा केन्द्रीय सदस्य त भइन् नै, प्रचण्डको स्वकीय सचिवको जिम्मेवारीमा छिन् । अनि, प्रधानमन्त्री कार्यालयमा सिन्डिकेट खडा गरेर बसेकी दाहालले आफन्तको संरक्षणमा त्यसरी नै सक्रिय रहेकी छिन् । प्रधानमन्त्रीको भारत भ्रमणमा प्रचण्डले छोरी दाहालको नाम दोस्रो वरीयतामा राखेको स्रोतको भनाइ छ । भारत भ्रमणमा निस्कने टोलीमा प्रधानमन्त्री प्रचण्डपछि दोस्रो नम्बरमा गंगा दाहालको नाम र तेस्रोमा परराष्ट्रमन्त्री एनपी साउदको नाम रहेको स्रोतको दाबी छ ।
प्रचण्डले छोरी रेनु दाहाललाई पार्टीको उत्तराधिकारीका रूपमा अगाडि सार्ने रणनीति लिएका छन् । त्यसैकारण पार्टीको जिम्मेवारीमा केन्द्रीय कमिटीदेखि भरतपुर महानगरपालिकाको मेयरमा दोहोर्याएका छन् । दाहाललाई अर्को चुनावमा चितवन ३ बाट संघको उम्मेदवार बनाउने प्रचण्डको रणनीति देखिन्छ । माओवादी नेताहरूको भनाइमा त्यही रणनीतिका कारण प्रचण्डले २०७९ को चुनावमा गैरराजनीतिक व्यक्ति डा. भोजराज अधिकारीलाई टिकट दिएको बताउँछन् ।
रेनुका श्रीमान् अर्जुन पाठक अहिले मेयरको सचिवालयमा आवद्ध छन् । पहिला माओवादीको संसदीय दलको कार्यालयमा काम गर्दथे । त्यति मात्र होइन, पाठकले गणेशमान पुन उद्योग, आपूर्ति तथा वाणिज्यमन्त्री भएका बेलामा स्वकीय सचिव भएर काम पनि गरेका थिए । प्रचण्डका अर्का ज्वाइँ सागर केसी भने संसद सचिवालयमा काम गर्दथे । सभामुख कृष्णबहादुर महरा र अग्नि सापकोटा रहेको बेलामा केसीले सचिवालयमा काम गर्ने गरेका थिए ।
रेनु दाहालसँग नातेदारी रहेका बुद्धि जीसीले पनि अवसर पाएका छन् । रेणुका श्रीमान् अर्जुन पाठकका ज्वाइँ नाता पर्ने जीसी पार्टीको केन्द्रीय सदस्य मात्र छैनन्, प्रधानमन्त्री कार्यालयको जनसम्पर्क सचिवालयमा कार्यरत छन् । अनि, रेनुका ससुरा भने पार्टीको सल्लाहकार थिए । रेनुका ससुराले माओवादीको प्रवास कमिटीमा बसेर पनि काम गरेका थिए ।
प्रचण्ड परिवारको सदस्य भएकै भरमा कति छिटो अवसर पाइन्छ भन्ने उदाहारण हुन्, सृष्टि केसी दाहाल । ६ असार २०७९ मा माओवादी अध्यक्ष प्रचण्डकी नातिनी सृष्टि दाहाल अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनीत भएकी छिन् । अध्यक्ष पञ्चा सिंहले दाहाललाई केन्द्रीय सदस्य मनोनयन गरेकी हुन् ।
अखिल क्रान्तिकारीमा संगठित नभएकी दाहाललाई सिधै केन्द्रीय सदस्य मनोनीत गरेको विषयमा अखिल क्रान्तिकारीमा विवाद भएको छ । फ्याक्सन इञ्चार्ज हितमान शाक्य र अध्यक्ष सिंहको जोडबलमा दाहाललाई मनोनयन गरिएको थियो । दाहाल प्रचण्डकी जेठी छोरी ज्ञानु केसीकी छोरी हुन् । लामो समय संगठनमा काम गरेकालाई पाखा लगाएर प्रचण्डको नातिनी भएकै कारण मनोनीत गर्नु गलत हुने पनि क्रान्तिकारीका नेताहरूले त्यतिबेला टिप्प्णी गरेका थिए । त्यसको खण्डनमा लामो स्टाटस लेखेर केसीले भने प्रतिरक्षा गरेकी थिइन् ।
प्रचण्डले मित विष्णुपुकार श्रेष्ठलाई चीनका लागि नेपाली राजदूत बनाएका छन् । पत्रकार नेत्र पन्थीको पुस्तक लेफ्ट राइटमा उल्लेख भए अनुसार धादिङका श्रेष्ठ र प्रचण्डको मितेरी साइनो हो । मित श्रेष्ठलाई राजदूत बनाउने बेलामा चीनको राजदूत बन्न धेरैले दाबी गरेका थिए ।
भाइ नारायण दाहाल सुरुकै दिनदेखि प्रचण्डको आडमा अवसरको खातमा छन् । पार्टीको जिम्मेवारीका अलावा सांसद पनि भइरहेका छन् । अहिले राष्ट्रियसभा सदस्य छन् । चितवनबाट राष्ट्रियसभाका सदस्यका लागि दाबी गर्ने अन्य नेताहरू पनि दिए । उनीहरूलाई अवसरबाट वञ्चित गरेर प्रचण्डले भाइ नारायणलाई अवसर दिएका हुन् । दाहाल परिवार र उनीनिकटले मात्रै अवसर पाउने भएकै कारण चितवनका माओवादी नेताहरूले पार्टी छोडिरहेका छन् । केन्द्रीय सदस्य तथा चितवन जिल्ला सहइञ्चार्ज भइसकेका नेता यमबहादुर परियार चुनावको मुखमा २०७९ कात्तिकमा माओवादी छोडेर एमालेमा प्रवेश गरे ।
चितवन जिल्ला अध्यक्ष आरसी अधिकारी प्रचण्ड परिवारसँग जोडिएकै कारण छोटो समयमा जिल्ला अध्यक्षको अवसर पाएको र पार्टीका सिनियर नेता पाखा लागेको चितवनका माओवादी नेताहरूको भनाइ छ । प्रचण्डसँग चितवनको दाहाल नाता भएकै आधारमा महेश दाहाल अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री मिनेन्द्र रिजालले कांग्रेस कोटाबाट दाहाललाई नेपाल टेलिभिजनको अध्यक्ष बनाएका थिए । तर, नेपाल टेलिभिजनको अध्यक्ष हुँदाहुँदै प्रचण्डले माओवादीको कोटाबाट दाहाललाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए । माओवादीको कोटाबाट राजदूत भएकी लक्की शेर्पा विवादमा परेर फर्केपछि दाहालले अवसर पाएका हुन् ।
माओवादीमा प्रचण्डको बुहारी भएकै कारण विना मगरले पनि अतिरिक्त अवसर पाउने गरेकी थिइन् । २०७४ मा कञ्चनपुर-४ बाट चुनाव जितेकी विना प्रचण्डको आडमा खानेपानीमन्त्री भएकी थिइन् । पार्टीमा पनि निरन्तर बढुवा भइरहेकी मगर अहिले प्रचण्डको उत्तराधिकारीको दौडमा छिन् । कञ्चनपुर जिल्लामा मगरको छवि निकै विवादित छ । त्यति हुँदा पनि मगरलाई प्रचण्डले २०७९ मा प्रतिनिधिसभा सदस्यको टिकट दिएका थिए ।
प्रचण्डकी अर्की बुहारी हुन्, सिर्जना त्रिपाठी । उनी पनि पछिल्लो समय राजनीतिमा सक्रिय हुन थालेकी छिन् । २०७९ को स्थानीय चुनावमा पोखरा महानगरपालिकाको उपमेयरका लागि त्रिपाठीको नाम सिफारिस भएको थियो । प्रचण्डको बुहारी भएकै कारण त्रिपाठी सिफारिसमा परेकी थिइन् । हालै त्रिपाठी माओवादीको भ्रातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को कास्की जिल्ला अध्यक्षमा मनोनीत भएकी छिन् । यद्यपि, अन्यको तुलनामा त्रिपाठीलाई प्रचण्डले नजिक आउन दिएका छैनन् ।
माओवादीमा ‘माइजू’का रूपमा परिचित छिन्- सावित्री अधिकारी । प्रचण्डको साला नाता पर्ने हेमराज पाठककी श्रीमती अधिकारी अहिले प्रधानमन्त्री प्रचण्डको सचिवालयमा छिन् । प्रचण्डको परिवारसँग सम्बन्ध जोडिएकै कारण गोरखाका चुडामणि खड्का पनि प्रशस्तै अवसर पाउने नेताभित्र पर्छन् । प्रचण्डका ज्वाइँ अर्जुन पाठकका नातेदार खड्काले प्रचण्डको सचिवालयमा पनि काम गरेका थिए । सचिवालय छोडेलगत्तै अपाङ्ग कोटामा २०७४ मा सांसद भएका खड्काले अहिले गोरखामा राजनीति गरिरहेका छन् ।