गजामा भोकमरीले भयावह अवस्था बनेपछि इसराइलले मानवीय सहायता वितरण गर्न दिने भएको छ। भोकमरीले दपेटेको गजाको अवस्थाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले केही दिनयता लगातार रिपोर्ट सार्वजनिक गर्दै आएको छ।
त्यसपछि गजामा युद्धविराम गरी मानवीय सहायता वितरण गर्ने अवस्था सिर्जना गर्नका लागि इसराइललाई अन्तर्राष्ट्रिय दबाब परेको थियो।विश्वका धेरै मुलुकहरूले गजाको अवस्थालाई लिएर इसराइल र त्यहाँका प्रधानमन्त्री बेन्जमिन नेनत्याहूलाई तत्काल युद्धविराम गर्न दबाब दिएका थिए।
अरबी मुलुकहरू र इसराइल भित्रै गजाको अवस्थालाई लिएर प्रधानमन्त्री नेतन्याहूको विरूद्ध प्रदर्शन भएका थिए।शुक्रबार भोकमरीकै कारण एक बालकले आफ्नो आमाकै काखमा मृत्युवरण गरेको समाचारले अझै विश्वको ध्यान तानेको थियो।
आइतबारदेखि गजामा मानवीय सहायता पुर्याउन दिन इसराइल तयार भएको हो।इसराइली सेना आइडिएफले विज्ञप्ती जारी गरेर आइतबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्म बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म मानवीय सहायता वितरण गर्न दिइने जनाएको हो।
त्यस अवधिमा आइडिएफले निश्चित ठाउँ तोकेर मानवीय सहायता वितरण गर्न दिइने भएको छ।'आइतबार देखि सुरु हुने गरी, मानवीय सहायताका लागि १० बजेदेखि बेलुका ८ बजेसम्म सैन्य गतिविधिमा स्थानीय रणनीतिक विराम हुनेछ,' आइडिएफले विज्ञप्तीमा भनेको छ।
इसराइलले यसअघि अत्यन्त सिमित परिमाणमा मानवीय सहायता गजा लैजान दिएको थियो। अन्तर्राष्ट्रिय संघसंस्थाहरूले लगातार मानवीय सहायता पुर्याउने वातावरण बनाउन आग्रह गरेपनि उसले रोकेको थियो।
आइतबारदेखि भने मानवीय सहायताका पुर्याउन चाहनेहरूका लागि पनि बाटो खोलिदिएको छ। बिहान ६ बजेदेखि राति ११ बजेसम्म मानवीय सहाताका लागि बाटो खुला रहने आइडिएफले जनाएको छ।
गजामा भोकमरीकै कारण अहिलेसम्म झन्डै २०० मानिसहरूको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको छ। तीमध्ये ८५ जना त बालबालिका मात्रै छन्।यसैबीच इसराइलले गजामा आकाशबाट खाद्यान्न खसालेको भिडिओ पनि सार्वजनिक भएको छ।
इसराइली सेनाले शनिबार राति गजामा जहाजबाट खाद्यान्न खसालेको भिडिओ बिबिसीले सार्वजनिक गरेको छ।खाद्यान्न बाँधिएका ठूला ठूला पोकाहरुमा प्यारासुट बाँधेर जहाजबाट गजा क्षेत्रमा खसालेका थिए।
त्यसरी खाद्यान्न खसालिएका ठाउँमा मानिसहरूबीच झगडा भएर स्थिति अझै अनियन्त्रित बनेकाले हवाइजहाजबाट खाद्यान्न खसाल्नुभन्दा जमिनबाट वितरण गर्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुले आह्वान गरेका छन्।गजामा भोकमरीले मानिसहरू यति आक्रान्त छन् कि थोरै खानेकुराका लागि पनि मानिसहरू आफू आफूबीच मर्न र मार्न तयार हुने दृश्य देखिन्छ भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखका छन्।
सीमित परिमाणमा इसराइलले खाद्यान्न वितरण गरेका कैयौं ठाउँहरूमा भोका मानिसहरूको भिड अनियन्त्रित भएपछि आइडिएफले गोली नै चलाएका घटना पनि सार्वजनिक भएका थिए।त्यस्तो अवस्थामा आकाशबाट खाद्यान्न खसालिनु प्रत्युत्पादक हुन सक्ने भनेर आइएनजिओहरूको धारणा छ।
मानवीय सहायताका लागि बाटो खुलेपछि विभिन्न देशहरूले खाद्यान्न पठाउन सुरू गरिसकेका छन्। केही देशका सहायताहरू गजा पुगिसकेका छन्।गजाको स्वास्थ्य मन्त्रालयले मानवीय सहायताका लागि अपिल पनि गरेका छन्।