बिहीबार , साउन २१ गते २०८३

एक वर्षको बच्चाले जव गोमन सर्पलाई नै टोकेर मारिदिए….

एक वर्षको बच्चाले जव गोमन सर्पलाई नै टोकेर मारिदिए….

अखबार दैनिक
मंगलबार, साउन १३ २०८२
  • एक वर्षको बच्चाले जव गोमन सर्पलाई नै टोकेर मारिदिए….

    एक बालकले ’विषालु गोमन सर्प टोकेर मारिदिएको’ समाचार सार्वजनिक भएपछि ती बालक सबैतिर चर्चाको विषय बनेका छन्। यो भारतको बिहारमा गत साता भएको घटना हो। नेपालको सीमानजिकै बिहारको मोहची बनकटवा गाउँमा गत जुलाई २४ मा घरबाहिर खेल्दै गर्दा गोविन्द कुमार नामक ती बालकको गोमन सर्पसँग जम्काभेट भएको बताइएको छ।

    ‘उसकी आमा घरपछाडि बारीमा काम गर्दै थिइन्’, गोविन्दकी हजुरआमा मतिसरी देवीले भनिन्, ‘उसले सर्प च्याप्पै समात्यो र दाँतले टोक्यो। पछि पो हामीले त्यो गोमन सर्प भएको थाहा पायौँ।’ त्यसको केही छिनमै गोविन्द अचेत भए। परिवारले उनलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लग्यो। त्यहाँबाट उनलाई बेतियास्थित सरकारी अस्पताल पठाइयो।

    ‘अस्पतालमा भर्ना हुँदा ती बालकको अनुहार फुलेको थियो, विशेष गरी मुखवरिपरिको भाग’, बेतियास्थित सरकारी मेडिकल कलेज (जीएमसीएच)का चिकित्सक डा कुमार सौरभ भन्छन्। उनका अनुसार सोही दिन अस्पतालमा गोमन सर्पले डसेका अर्का बालकलाई पनि उपचारका लागि ल्याइएको थियो। अहिले दुवै जना स्वस्थ छन्।

    डा सौरभका अनुसार ‘सर्पले डसेको र सर्पलाई टोकेको दुवै अवस्थामा मानिसलाई हानि पुग्छ’। तर सर्पले डस्दा शरीरभित्र चाँडै विष फैलिने भएकाले त्यो बढी खतरनाक हुन्छ। ‘गोमन सर्पले मान्छेलाई डस्दा विष हाम्रो रगतमा पुग्छ र न्यूरोटक्सिसिटी हुन्छ जसका कारण हाम्रो स्नायुप्रणालीलाई हानि पुग्छ। त्यसबाट मृत्यु पनि हुन सक्छ’, उनले भने।

    ‘मानिसले गोमन सर्प टोक्दा चाहिँ विष पाचनप्रणालीमा पुग्छ। मानिसको शरीरले त्यसलाई मत्थर पार्छ र विष बाहिर निस्किन्छ’, डा सौरभले भने। तर उनका अनुसार ती बालकको मुखदेखि पाचननलीमा कतै रगत निस्किने गरी घाउ वा अल्सर थियो भने चाहिँ विषको प्रभाव घातक हुन सक्थ्यो।

    भारतमा झन्डै ३०० प्रजातिका सर्प पाइन्छन्। तीमध्ये ६० वटा विषालु छन्। गोमन निकै खतरनाक सर्पमध्ये पर्छ। सर्पदंशका घटना अत्यधिक हुने भएकाले भारतलाई विश्वको सर्पदंशको राजधानी पनि भनिन्छ। अहिले वर्षा याममा भारतमा सर्पले डसेर मृत्यु हुने मानिसको सङ्ख्या बढेको छ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार विश्वभरि प्रत्येक वर्ष ८१,००० देखि १,३८,००० मानिसले सर्पदंशका कारण ज्यान गुमाउँछन्। भारतमा सन् २००० देखि २०१९ सम्म प्रत्येक वर्ष सरदर ५८,००० मानिसको मृत्यु भएको तथ्याङ्क डब्ल्यूएचओले देखाउँछ। तर सर्पदंश हुने धेरै ठाउँहरूमा उपचारको सुविधा नभएकाले मृत्यु हुने धेरै मानिसको सङ्ख्या अभिलेखमा नपर्ने भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। (बीबीसी)

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार