प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले दर्ता हुन नआएका सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू बन्द हुने स्पष्ट संकेत गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अदालतको आदेशसमेतका कारण दर्ता हुन नआएका सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुने बताएका हुन् ।
सामाजिक सञ्जाल शीघ्र दर्ता भई प्रयोगमा फर्किने उनको अपेक्षा छ । सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ । सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुँदैछन्, उनले लेखेका छन्, लतकै रूपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचीकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस्।
सामाजिक सञ्जाल अहिले लतकै रूपमा सबैको जीवनमा जोडिएको उनले उल्लेख गरेका छन् । यसअघि एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल बन्द नभएर नखुल्दासम्म असल परम्पराहरू पुनर्स्थापित गर्नुपर्ने बताएका थिए ।