बिहीबार , साउन २१ गते २०८३

कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी वर्षा

कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी वर्षा

अखबार दैनिक
बुधबार, असोज ८ २०८२
  • कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी वर्षा

    भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा ३९ वर्षयताकै सबैभन्दा बढी वर्षा हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ९ जनाको निधन जलमग्न भएको ठाउँमा करेन्ट लागेर भएको हो।

    सोमबार रातिदेखि परेको भारी वर्षाले सहर र यसका उपनगरहरूमा रहेका आवासीय तथा व्यापारिक क्षेत्रहरूमा जलमग्नको समस्या देखिएको छ। धेरै मुख्य सडकहरू डुबानमा परेका छन् भने रेल सेवाहरू पनि प्रभावित भएका छन्, जसले गर्दा यात्रुहरू घुँडासम्मको पानीमा हिँड्न बाध्य भएका छन्।

    यो भीषण वर्षा दुर्गा पूजाभन्दा केही दिनअघि भएको हो, जुन यस क्षेत्रको सबैभन्दा ठुलो र लोकप्रिय वार्षिक उत्सव हो। यो समयमा हजारौँ मानिसहरू देवी दुर्गाको पूजा गर्न बाहिर निस्कने गर्छन्।

    २४ घण्टाभन्दा कम समयमा २५१.४ मिमि वर्षा भएको यो घटना सन् १९८६ यता सहरमा भएको सबैभन्दा ठुलो वर्षा हो। साथै, यो विगत १३७ वर्षमा यस क्षेत्रको छैटौँ सबैभन्दा बढी एकदिने वर्षा पनि हो।

    भारतीय मौसम विभागका अनुसार यो वर्षा उत्तर-पूर्वी बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको कारण भएको हो। आगामी केही दिन पनि थप वर्षाको पूर्वानुमान गरिएकोले सहरमा सतर्कता अपनाइएको छ।

    पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले यस्तो वर्षा आफूले कहिल्यै नदेखेको बताउँदै ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेकी छिन् र पीडित परिवारलाई क्षतिपूर्ति दिने वाचा गरेकी छिन्। धेरैजसो मृत्यु करेन्ट लागेर भएकोले थप दुर्घटना हुन नदिन धेरै ठाउँमा बिजुली काटिएको छ। अधिकारीहरूले मंगलबार रातिदेखि नै जनजीवन सामान्य बनाउन प्रयास गरिरहेको बताएका छन्। एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार