बुधबार, असोज ३० गते २०८२

विन्ध्यवासिनी मन्दिरको नवदुर्गा महोत्सवमा ४१ लाखबढी भेटी सङ्कलन

विन्ध्यवासिनी मन्दिरको नवदुर्गा महोत्सवमा ४१ लाखबढी भेटी सङ्कलन

अखबार दैनिक
बुधबार, असोज ३० २०८२
  • विन्ध्यवासिनी मन्दिरको नवदुर्गा महोत्सवमा ४१ लाखबढी भेटी सङ्कलन

    पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा आयोजना भएको नवदुर्गा महोत्सवमा रु ४१ लाख ७२ हजार भेटी तथा सहयोग सङ्कलन भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा यही असोज ६ गते (घटस्थापना) देखि १५ गते महानवमीसम्म नवदुर्गा महोत्सव सञ्चालन गरिएको थियो ।

    उक्त अवसरमा महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञसहित विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिएकामा उक्त अवधिभर नियमित पूजाआजा र महायज्ञमा गरी रु ४१ लाख ७२ हजार भेटी तथा आर्थिक सहयोग सङ्कलन भएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुुभयो । उहाँका अनुसार विजयादशमीको पावन अवसरमा विसं २०६४ देखि विध्यवासिनी नवदुर्गा महोत्सवको आयोजना गर्दै आएको छ ।

    महोत्सवका अवसरमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा र श्रीमद्देवी भागवत ज्ञान महायज्ञ गरिँदै आइए पनि यस वर्ष गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्वतयारीमा बाधा पुग्न गएकाले शोभायात्रा भने स्थगित गरिएको थियो ।

    अढाइ शताब्दी अघिदेखि पूजाआजा हुँदै आएको मानिने यस मन्दिरको स्थापना कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा भएको इतिहासमा उल्लेख छ । मन्दिरको संरक्षण विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ विसं २०४३ मा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको गठन गरिएको थियो ।

    समितिको गठनपश्चात् यस धार्मिक क्षेत्रमा भौतिक पूर्वाधारहरूको निर्माण, सौन्दर्यकरण, सामाजिक, धार्मिक तथा आध्यात्मिक जागरणसम्बन्धी कार्यहरू हुँदै आएका छन् । समितिले विन्ध्यवासिनी दर्शन गर्न पोखरा आउने श्रद्धालु भक्तजनहरूबाट प्राप्त भेटी तथा दान दातव्यलाई जनहितको कार्यमा प्रयोग गर्दै आएको छ ।

    विभिन्न पर्व तथा उत्सवका पूजन धार्मिक आध्यात्मिक जागरण तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विभिन्न पर्वहरूका उपलक्ष्यमा मन्दिरमा विशेष पूजनोत्सव आयोजना गर्ने गरिएको छ ।

    विशेषतः साउनमा शिव पूजनोत्सव, गणेश चौथीमा गणेश पूजनोत्सव, श्रीपञ्चमीमा सरस्वती पूजनोत्सव, श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्ण जन्मोत्सव, रामनवमी, हनुमान् जयन्ती, शिवरात्रिमा विशेष कार्यक्रमहरू हुँदै आएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ