आँगनमा एउटा कलिलो च्याँ–च्याँ गुन्जिएसँगै सूर्य उदयमान भयो,
सुन्दर फूलको सृष्टिमाझ एउटा कोपिला फुल्यो, शरीरको बेदना हटेर गयो,
तिमीलाई आफ्नो ज्यानसँग लडेर जन्माउने जननीको लागि आकाश पनि रोयो,
अनि मौसमले रूप फेर्यो, बादल हटेर सुनौलो बिहान छायो ।
साल–नालको नाता, जीवनको अनौठो गाता,
तिम्रो कलिलो शरीरमा बगेको उनको रगत अनि यो यात्रामा भेटिने अनगिन्ती नाता,
आफ्नो छातीमा टाँसेर अमृत सरह दूध खुवाइन् तिमीलाई,
मान्छेले बिर्सिएर जाला तर धरती साक्षी छ, नपत्याए सोध त्यो घाम र जूनलाई ।
तेते मेरो बाबा भन्दै गुनगुनाउँदै देवी जस्ती उनी तिमीलाई अँगालोमा बेर्थिन्,
मुटुको टुक्रालाई कतै ठेस लाग्यो कि भनी भरिलो सास फेर्थिन्,
मौसम जस्तै परिवर्तन भएर बुढो हुँदै जाने यो शरीर,
सँगै हुर्किएको तिमी ठुलो भयौ, पखेटा पलायो, उड्ने भयौ लेक र भीर ।
निष्ठुरी समय पनि मनभरिको माया दिएर छिनेर लग्दो रहेछ,
हिजो आमा भन्दै छातीमा टाँसिने छोरीले आज गुँड छोड्ने भइछ,
पखेटा हालिदिएको छु, उड स्वतन्त्र भएर भनिन्,
जीवनको यात्रा हो, हाम्रो भेट छिट्टै हुन्छ भन्दै दिनहरू गनिन् ।
एउटा आमाको रूपमा त्यो सन्तानको मनमा देवी जस्ती उनकै नाम आउला,
यो मनले एउटा निमुखो कोपिलालाई फूल बनाउने दाता,
अनि जीवनको सागर तर्ने सहयात्री बाहेक दुनिया सबै स्वार्थी पाउला,
तिमी रोगी भएर थला पर्दा तिम्रो फोहोर लुगा छुन घिन नमान्ने तीनै हुन्,
बाँकी त बलेको आगो ताप्ने हुन्, मान चाहिन्छ, सम्मान चाहिन्छ, नलगाइकन कुनै गुण ।
लेखक : उर्जा पौडेल

प्रतिक्रिया दिनुहोस