बिहीबार , साउन २१ गते २०८३

उत्तर कोरियामा किमकी छोरी उत्तराधिकारीकाे सङ्केत

उत्तर कोरियामा किमकी छोरी उत्तराधिकारीकाे सङ्केत

अखबार दैनिक
शुक्रबार, पुस १८ २०८२
  • उत्तर कोरियामा किमकी छोरी उत्तराधिकारीकाे सङ्केत

    सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले पवित्र पारिवारिक समाधिमा गरेको पहिलो सार्वजनिक भ्रमणलाई लिएर उनको सम्भावित उत्तराधिकारीको रूपमा स्थान बलियो बनाउने कदमका रूपमा विश्लेषकहरूले हेरेका छन् । नयाँ वर्षको दिन बिहीबार सम्पन्न उक्त भ्रमणले उत्तर कोरियाको सत्ता राजनीतिमा नयाँ सङ्केत दिएको बताइएको छ ।

    करिब १३ वर्षकी किम जु ए नाम भएकी किशोरीले प्योङयाङस्थित कुमसुसन प्यालेस अफ द सनमा आफ्ना आमाबुबासँगै उपस्थित भई गहिरो सम्मान प्रकट गरेका थिए । यही दरबारमा उनका दिवङ्गत जिजु हजुरबुबा किम जोङ इल र हजुरबुबा किम इल सुङको शव संरक्षण गरी राखिएको छ । शुक्रबार सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा किम जु ए अगाडिको पङ्क्तिमा उभिएर श्रद्धापूर्वक नमन गरिरहेका  देखिन्छिन् ।

    दक्षिण कोरियाको निजी सेजोङ संस्थानका उपप्रमुख चेओङ सेओङ–चाङका अनुसार कुमसुसन दरबारलाई उत्तर कोरियाली शासनको वैधताको प्रतीक मानिन्छ । उनका अनुसार वर्कर्स पार्टीको आगामी काङ्ग्रेसको सन्दर्भमा किम जु एलाई त्यहाँ उपस्थित गराइनु राजनीतिक रूपमा योजनाबद्ध कदम हो, जसले उहाँलाई भावी उत्तराधिकारीका रूपमा प्रस्तुत गर्ने उद्देश्य बोकेको हुनसक्छ ।

    एकचालीस वर्षीय किम जोङ उन सन् १९४८ मा उत्तर कोरियाको स्थापना भएयता शासन गर्दै आएको किम परिवारको तेस्रो पुस्ता हुन् । उनले प्रायः प्रमुख राज्य वार्षिकोत्सवका अवसरमा कुमसुसन दरबारमा पुगेर आफ्ना पिता र हजुरबुबाप्रति श्रद्धा अर्पण गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

    चेओङ सेओङ–चाङले किम जोङ उनले आगामी वर्कर्स पार्टी काङ्ग्रेसमा आफ्नी छोरीलाई पार्टीको पहिलो सचिवजस्तो महत्त्वपूर्ण पद दिन सक्ने सम्भावना औँल्याएका छन् । तर अन्य केही विज्ञहरूको मतमा किम जु ए यति उच्च–प्रोफाइल जिम्मेवारी सम्हाल्न अझै कम उमेरकी छन्, त्यसैले उनलाई तल्लो तहको पदबाट राजनीतिक अभ्यास सुरु गराउन सकिने अनुमान गरिएको छ ।

    पाँच वर्षपछि हुन लागेको यो काङ्ग्रेसको उद्देश्य राज्यका नीतिगत प्राथमिकता पुनःनिर्धारण गर्नु र नेतृत्व तहमा फेरबदल गर्नु हो । उत्तर कोरियाले काङ्ग्रेसको मिति औपचारिक रूपमा सार्वजनिक नगरे पनि दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार यो जनवरी वा फेब्रुअरी महिनामा हुनसक्ने सम्भावना छ ।

    नोभेम्बर २०२२ मा पहिलोपटक राज्य सञ्चारमाध्यममा देखा परेपछि किम जु ए आफ्ना बुबासँग सैन्य परेड, अन्तरमहादेशीय मिसाइल प्रक्षेपण लगायतका महत्त्वपूर्ण कार्यक्रममा निरन्तर सहभागी हुँदै आएकी छन् । सेप्टेम्बरमा उनी आफ्ना बुबासँगै बेइजिङ भ्रमणमा गएकी थिइन् । यसै साता नयाँ वर्षको उत्सवका क्रममा उनले आफ्ना बुबाको गालामा चुम्बन गर्दै निकट पारिवारिक सम्बन्धसमेत सार्वजनिक रूपमा देखाएकी छन् ।

    जनवरी २०२४ मा दक्षिण कोरियाली गुप्तचर एजेन्सीले किम जु एलाई किम जोङ उनको सम्भावित उत्तराधिकारीका रूपमा मूल्याङ्कन गरिएको जनाएको थियो । यद्यपि उनको कम उमेर र उत्तर कोरियाको शक्ति संरचना अत्यन्त पुरुष–प्रधान रहेको तथ्यलाई आधार बनाएर केही अन्तर्राष्ट्रिय विज्ञहरूले उक्त मूल्याङ्कनप्रति असहमति जनाउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार