काठमाडौं । भारतको हिमाचल प्रदेश राज्यको सोलन जिल्लामा भएको आगलागीमा नौ नेपालीसहित १० जनाको निधन भएको पुष्टि भएको छ । घटनामा एक नेपाली महिला घाइते भएकी छन् भने १८ नेपाली ज्यान जोगाउन सफल भएका छन् ।
सोलन जिल्लाअन्तर्गत नगर पञ्चायत अर्कीको वार्ड नम्बर–६ मा उक्त दुर्घटना भएको हो । आगलागीमा पाँचवटा भवन र आठवटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगलागीमा परेका सबै नेपालीहरु कर्णाली प्रदेशको सल्यान जिल्लाका बासिन्दा भएको बताइएको छ ।
ज्यान गुमाउनेमा ३३ वर्षका धनबहादुर विक, उनकी ३० वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, ११ वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा रेन्जन विक रहेका छन् भने ४२ वर्षका काशीराम विक, उनकी ३० वर्षकी श्रीमती टीका विक, ८ वर्षीया छोरी अनु विक र ६ वर्षीय छोरा सञ्जयको पनि निधन भएको छ । उनीहरू सल्यान जिल्ला सिद्ध कुमाख गाँउपालिका २, टाकुरा निवासी हुन् । प्राप्त जानकारी अनुसार सबैभन्दा पहिले एउटा पाँचतले काठको भवनको माथिल्लो तलाबाट आगलागी सुरु भएको थियो ।
उक्त भवनमा कम्तीमा २७ जना नेपालीहरु बस्दै आएका थिए । राति जाडोका कारण उनीहरूले गुँइठा बालेर कोठाभित्र राखेको र त्यहीबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ । काठको संरचना भएका कारण आगो तीव्र गतिमा फैलिँदै छेउछाउका अन्य पाँच भवनमा समेत फैलिएको थियो ।
आगलागीका क्रममा एकपछि अर्को गर्दै ग्यास सिलिन्डर विस्फोट हुँदा करिब नौ पटक ठूलो आवाज आएको स्थानीयले बताएका छन् । सूचना पाएलगत्तै बिहान करिब साढे ४ बजे अग्निशमन विभागका चार टोली घटनास्थलमा पुगेका थिए।
अर्की फायर स्टेसनसँगै बनलगी, बालुगन्ज (शिमला) र अम्बुजाबाट आएका दमकल गाडी, एनडीआरएफ, प्रशासनिक टोली तथा स्थानीयवासीहरूको सहयोगमा करिब नौ घण्टापछि दिउँसो डेढ बजे आगो नियन्त्रणमा लिइएको हो । घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई प्रारम्भिक राहतस्वरूप २५–२५ हजार रुपैयाँ प्रदान गरिएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस