बिहीबार , साउन २१ गते २०८३

ताइवान नजिकैको टापुमा जापानले क्षेप्यास्त्र तैनाथ गर्ने, चीनसँगको सम्बन्धमा थप दरार

ताइवान नजिकैको टापुमा जापानले क्षेप्यास्त्र तैनाथ गर्ने, चीनसँगको सम्बन्धमा थप दरार

अखबार दैनिक
बुधबार, फागुन १३ २०८२
  • ताइवान नजिकैको टापुमा जापानले क्षेप्यास्त्र तैनाथ गर्ने, चीनसँगको सम्बन्धमा थप दरार

    क्षेत्रीय तनाव उत्कर्षमा पुगेका बेला जापानले ताइवानको सिमाना नजिकै अवस्थित आफ्नो दुर्गम टापु योनागुनीमा जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली तैनाथ गर्ने निश्चित समयतालिका सार्वजनिक गरेको छ । जापानी रक्षा मन्त्री शिनजिरो कोइजुमीले सन् २०३० को आर्थिक वर्ष अर्थात् मार्च २०३१ सम्ममा उक्त रणनीतिक टापुमा अत्याधुनिक क्षेप्यास्त्र इकाई स्थापना गरिसक्ने घोषणा गरेका हुन् ।

    सन् २०२२ मा पहिलोपटक यो योजना सार्वजनिक गरिए पनि जापानले यसरी स्पष्ट समयसीमा तोकेको यो नै पहिलो पटक हो । योनागुनी टापु ताइवानको तटबाट मात्र ११० किलोमिटरको दुरीमा छ, जहाँबाट मौसम सफा भएको दिनमा ताइवानको भूगोल प्रस्टै देख्न सकिन्छ ।

    ताइवानलाई आफ्नो अभिन्न अंग ठान्ने र आवश्यक परे बल प्रयोग गरेरै भए पनि विलय गराउने चेतावनी दिँदै आएको चीनका लागि जापानको यो कदम ठूलो चुनौतीका रूपमा हेरिएको छ । विशेषगरी जापानकी नयाँ प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानमाथि हमला भएमा जापानको आत्मरक्षा बल सक्रिय हुने सङ्केत दिएसँगै टोकियो र बेइजिङबिचको सम्बन्ध चिसिएको छ ।

    पछिल्लो समय ताइवानलाई लिएर अमेरिका र चीनबिच हुन सक्ने सम्भावित सैन्य द्वन्द्वमा जापान पनि तानिने जोखिम बढ्दै गएको छ । प्रधानमन्त्री ताकाइचीको ‘कट्टरपन्थी’ छविका कारण चिढिएको चीनले जापानमाथि विभिन्न ढङ्गले दबाब सिर्जना गरिरहेको छ ।

    चीनले जापानी कम्पनीहरूमाथि निर्यात प्रतिबन्ध लगाउने, दुर्लभ खनिज पदार्थको आपूर्ति रोक्ने, चिनियाँ पर्यटकलाई जापान जान निरुत्साहित गर्ने र सांस्कृतिक कार्यक्रमहरू रद्द गर्ने जस्ता कदम चालिसकेको छ । यसै साता मात्रै चीनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै २० वटा जापानी कम्पनीमाथि निर्यातमा कडाइ गरेको थियो, जसको भोलिपल्टै कोइजुमीले क्षेप्यास्त्र तैनाथीको मिति घोषणा गरेका हुन् ।

    रक्षा मन्त्री कोइजुमीका अनुसार योनागुनीमा तैनाथ गरिने मध्यम दुरीका क्षेप्यास्त्रहरूले शत्रुको विमान र क्षेप्यास्त्रलाई आकाशमै नष्ट गर्ने क्षमता राख्छन् । जापानको यो निर्णयलाई रक्षा क्षेत्रमा आएको सामान्य फेरबदलका रूपमा मात्र नभई एक आक्रामक रणनीतिका रूपमा विश्लेषण गरिएको छ । हालैको संसदीय निर्वाचनमा भारी बहुमत ल्याएकी ताकाइचीलाई रक्षा क्षमता बढाउने राजनीतिक बाटो खुलेको छ ।

    पछिल्लो एक दशकमा जापानले पर्यटकीय र शान्त योनागुनी टापुलाई बिस्तारै सैन्य अखडामा परिणत गर्दै लगेको छ । हाल त्यहाँ करिब १६० सैनिकले तटीय निगरानी गरिरहेका छन् भने सन् २०२६ सम्ममा शत्रुको सञ्चार र राडार प्रणालीलाई अवरुद्ध गर्न सक्ने ‘इलेक्ट्रोनिक वारफेयर’ इकाई समेत स्थापना गर्ने तयारी छ ।

    बेइजिङले भने जापानको यस्तो गतिविधिले क्षेत्रीय तनाव बढाएको र सैन्य मुठभेडको अवस्था सिर्जना गरेको आरोप लगाउँदै आएको छ । न्युज नेपाल एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार