बिहीबार , साउन २१ गते २०८३

उपत्यकामा दसैँ सुरक्षा योजना : १० हजार प्रहरी परिचालन गर्दै होटल, गेष्टहाउस, बसपार्क र मलमा सर्च अप्रेशन

उपत्यकामा दसैँ सुरक्षा योजना : १० हजार प्रहरी परिचालन गर्दै होटल, गेष्टहाउस, बसपार्क र मलमा सर्च अप्रेशन

अखबार दैनिक
सोमबार, असोज २६ २०७७
  • उपत्यकामा दसैँ सुरक्षा योजना : १० हजार प्रहरी परिचालन गर्दै होटल, गेष्टहाउस, बसपार्क र मलमा सर्च अप्रेशन

    pic.jpgआश्विन २६

    दसैँको बेला उपत्यकामा कार्यरत प्रहरी–कर्मचारीले बिदा नपाउने भएका छन् । कोभिड–१९ को जोखिम र चाडपर्वमा हुने अपराध नियन्त्रण गर्नुपर्ने दायित्वले गर्दा प्रहरी कर्मचारीले बिदा नपाउने महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले अखबारदैनिकलाई जानकारी दिए । उनले भने, ‘दसैँ–तिहारको बेला सुरक्षाका लागि उपत्यकामा मात्रै करिब १० हजार प्रहरी परिचालित हुन्छन्, त्यसैले बिदा दिने अवस्था छैन ।’ उपत्यकाका वृत र प्रभाग प्रमुखहरुलाई कार्यालयमा ‘उल्लासपूर्वक’ दसैँ मनाउन महानगरीय प्रहरी कार्यालयले निर्देशन दिएको छ । काममा ध्यान दिँदै उल्लासपूर्वक दसैँ मनाउन मातहतलाई निर्देशन दिइएको डीआईजी पोखरेलको भनाइ छ ।

    काठमाडौँ । कोरोना महामारीविरुद्ध ‘फ्रन्ट लाइन’ मा खटिएको प्रहरीको काँधमा अब दसैँ–तिहारमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी आएको छ । कात्तिक १ गतेबाट दसैँ सुरु हुँदैछ । त्यसैले प्रहरीले काठमाडौँ उपत्यकामा चाडपर्व केन्द्रित सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समन्वयमा उपत्यकाका तीनै जिल्लामा ‘चाडपर्व सुरक्षा योजना’ लागू गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सुशीलकुमार यादवले अखबारदैनिकलाई जानकारी दिए ।

    दसैँ–तिहारमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौँमा ३ हजार ७ सय प्रहरी परिचालन गरिएको छ । चक्रपथ बाहिर र भित्र क्षेत्र छुट्याएर ‘कर्डन एण्ड सर्च अप्रेशन’ गरिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) श्यामलाल ज्ञवालीले अखबारदैनिकलाई बताए । उनले भने, ‘गेष्ट हाउस र होटलमा सर्च अप्रेशन चलाउँछौँ, लामो दुरीका बस छुट्ने र आउने ठाउँमा सादा पोशाकमा प्रहरी खटाएर निगरानी गर्छौँ ।’

    धेरै भिडभाड हुने बसपार्क र सपिङ मलमा प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेर ‘डग स्निफिङ’ गराउने सुरक्षा रणनीति तयार गरेको छ । शनिबारसम्म काठमाडौँ प्रहरीले लामो दुरीमा चल्ने सवारी साधनमा यात्रु ठगीमा संलग्न ९७ जनालाई पक्राउ गरेको छ । ‘चाडपर्व सुरक्षा योजना लागू भैसकेको छ,’ ज्ञवाली भन्छन्, ‘३६ ठाउँमा चेकप्वाइन्ट राखेका छौँ ।’

    काठमाडौँ उपत्यकामा प्रहरीको २८ ‘एम्बुसिङ टिम’ खटिएका छन् । नियमित ६६ वटा पिकेट ड्युटी बाहेक दसैँ–तिहार लक्षित गरी थप ३० ठाउँमा पिकेट टिम परिचालन गरिएको प्रहरीको भनाइ छ ।

    काठमाडौँ प्रहरीले घर–डेरा छाडेर उपत्यका बाहिर जाँदा डेरामा मूल्यवान वस्तु नराख्नसमेत अपिल गरेको छ । सुन, पैसा र मूल्यवान ग्याजेट डेरामा नछाड्न आग्रह गर्दै ज्ञवालीले भने, ‘चोरको निसानामा बहुमूल्य सामान पर्ने हुनाले ती सामानलाई बैंक लकरमा राखेर जाँदा चोरी हुने जोखिम हुँदैन ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार