दक्षिण कोरियाको प्रहरीले त्यहाँको यातायात मन्त्रालयको मुख्यालयमा छापा मारेको छ । दक्षिण कोरियामा भएको सबैभन्दा घातक हवाई दुर्घटनाको अनुसन्धान तीव्र हुँदै जाँदा प्रहरीले छापा मारेको हो ।सन् २०२४ को डिसेम्बर २९ मा मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा सिमेन्टको पर्खालमा ठोक्किँदा जिजु एयरको फ्लाइट नम्बर २२१६ दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा विमानमा सवार १८१ जनामा दुई जना मात्रै बाँचेका थिए ।
बाँचेका दुई जना विमानका फ्लाइट अटेन्डेन्ट र जहाजको पुच्छरतिरको भागमा बसेका एक यात्री थिए । सोही घटनामा दक्षिण कोरियाली प्रहरीका अनुसार भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यालयमा शुक्रबार छापा मारिएको हो ।
प्रारम्भिक अनुसन्धानले विमानमा चरासँग ठोक्किएको सम्भावना देखाएको थियो । साथै रनवे नजिक रहेको कङ्क्रिटको ढिस्को संरचनाले दुर्घटनाको क्षति झन् बढाएको बताइएको छ । अनुसन्धानकर्ताहरूले दुर्घटनास्थलबाट हटाइएको भग्नावशेषको थुप्रोभित्र मानव शरीरका थप अङ्ग र पीडितका व्यक्तिगत सामान फेला पारेपछि विवाद झन् चर्किएको छ । पीडित परिवारहरूले लामो समयदेखि भग्नावशेष पुनः परीक्षण गर्न माग गर्दै आएका थिए ।
यस घटनापछि दक्षिण कोरियाका राष्ट्रपति लि येए–म्युङले बिहीबार थप अनुसन्धान गर्न आदेश दिएका थिए । उनले मानव अवशेष सङ्कलनमा भएको ढिलाइका लागि जिम्मेवार अधिकारीहरू विरुद्ध अनुशासनको कारबाही गर्न पनि निर्देशन दिएका छन् । सरकारको तर्फबाट मन्त्रालयले माफी मागे पनि पीडित परिवारले स्वीकार गरेका छैनन् ।
मन्त्रालयको ढिलो र अपर्याप्त माफीले पीडितलाई दोस्रो पटक मार्नुजस्तै भएको टिप्पणी परिवारका प्रतिनिधिले गरेका छन् । दुर्घटनाबारे अनुसन्धानको नतिजा यस वर्षको मध्यसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ । साथै संसद् र अन्य निकायहरूले पनि छुट्टाछुट्टै अनुसन्धान अघि बढाइरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस