बिहीबार , साउन २१ गते २०८३

कांग्रेसको निष्कर्ष: चीनले नेपालको भूमि मिचेकै हो

कांग्रेसको निष्कर्ष: चीनले नेपालको भूमि मिचेकै हो

नेपालले गप्पुदोचादेखि निर्माण गरेको दुई किलोमिटर सडकखण्ड पनि चीनले अतिक्रमण गरेको उल्लेख छ ।

images
अखबार दैनिक
बुधबार, असोज २८ २०७७
  • कांग्रेसको निष्कर्ष: चीनले नेपालको भूमि मिचेकै हो

    असोज २८

    सरकारले चिनियाँ पक्षबाट नेपालको कुनै पनि भूभाग नमिचिएको दाबी गरिरहेकै बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भूमि मिचिएको निष्कर्ष निकालेको छ ।

    कर्णाली प्रदेशसभा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा नेपाल-चीन सीमा निरीक्षणमा गएको टोलीले चिनियाँ पक्षबाट नेपाली भूमि मिचिएको निष्कर्ष निकालेको हो । ११ दिनसम्म नेपाल-चीन सीमा निरीक्षण गरेको शाही नेतृत्व टोलीले नाम्खा गाउँपालिकामा पर्ने लोलुङजोङमा चीनद्वारा निर्मित भौतिक संरचनाहरु नेपाली भूभागमा पर्नेसमेत निष्कर्ष निकालेको छ । कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका दलका नेता शाहीले पार्टीको सूचना सञ्‍चार तथा प्रचार विभागद्वारा मंगलबार बेलुकी आयोजित ‘छहारी संवाद’ मा प्रस्तुत गरेको प्रतिवेदनमा नेपालले गप्पुदोचादेखि निर्माण गरेको दुई किलोमिटर सडकखण्ड पनि चीनले अतिक्रमण गरेको उल्लेख छ ।

    उनले लाप्चा भञ्‍ज्याङमा निर्माण गरिएको १२ नम्बर सीमा स्तम्भ चीनले पूरै परिवर्तन गरेको बताए । उक्त सीमा स्तम्भ नेपाल सरकारलाई थाहै नदिई ६ महिनाअघि चीनले निर्माण गरेको नेता शाहीको भनाइ थियो । चीनले दशगजा क्षेत्रमा नियमविपरीत हिल्सा सीमाको ९ (२) नम्बर स्तम्भको बीच रेखामा तारबार र गेट निर्माण गरेको, ५ (१) र ५ (२) सीमा स्तम्भलाई चीनले तारबार गरी राखेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार चीनले ५ (२) नम्बरको पुरानो सीमा स्तम्भलाई उखेलेर एकतर्फी रुपमा नयाँ बनाएको छ ।

    नेता शाहीले चीनले नेपाली भूमिमा निर्माण गरेको संरचनाका बारेमा देखिएको विवादबारे सत्यतथ्य पत्ता लगाउन र नेपाली भूमि फिर्ताका लागि सरकारलाई सुझावसहित दबाब दिन आफूहरु सीमा क्षेत्रमा निरीक्षणका लागि गएका बताएका छन् ।

    असोज १४ गतेबाट असोज २४ गतेसम्म गरिएको सीमा निरीक्षणका क्रममा टोलीले पुराना र पाको उमेरका स्थानीय बासिन्दाका अनुभव संकलन, नेपाल-चीन सीमा सन्धिअनुसार अनुमोदित नक्सा, लिपि र हिल्साका स्थानीय बासिन्दाहरुसँग अन्तर्क्रिया-छलफलसँगै जीपीएस प्रविधि प्रयोग गरेको बताइएको छ ।

    पार्टी केन्द्रको निर्देशनअनुसार नेता शाहीको नेतृत्वमा गएको सीमा निरीक्षण टोलीमा संविधानसभा सदस्य रीता शाही, हुम्ला कांग्रेसका सभापति जयपति रोकाया, उपसभापति कैलाश भण्डारी, महासमिति सदस्य तथा सिमकोट गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, महासमिति सदस्य तथा खार्पनाथ गाउँपालिकाका अध्यक्ष पेमा लामालगायतको सहभागिता रहेको थियो ।

    यसअघि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्‍जीवी गिरीको नेतृत्वमा सरकारी टोली पनि स्थलगत निरीक्षणमा गएको थियो । उक्त टोलीले सीमा निरीक्षणपछि प्रतिवदेन नबुझाउँदै सरकारले चीनले सीमा नमिचेको प्रतिक्रिया दिएको थियो ।

    हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले सीमा मिचेको अभिव्यक्ति दिएपछि गृह मन्त्रालयले लिखित स्पष्टीकरणसमेत लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार