एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबारका लागि तय गरिएको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन् । खाडी मुलुकहरू कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) का नेताहरूको विशेष आग्रहमा आफूले सो आक्रमण रोकेको ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत सार्वजनिक गरेका हुन् ।
आफ्नो निर्णयबारे जानकारी दिँदै राष्ट्रपति ट्रम्पले अमेरिका र मध्यपूर्वका देशहरूका लागि स्वीकार्य हुने गरी इरानसँग 'गम्भीर वार्ता' भइरहेको र सम्झौताको सम्भावना बढेको बताए । उनले इरानसँग चाँडै सम्झौता हुने विश्वास समेत व्यक्त गरे ।
उनले उक्त सम्झौताको मुख्य सर्त 'इरानसँग कुनै पनि आणविक हतियार रहने छैन" भन्ने हुने स्पष्ट पारेका छन् । यद्यपि, उनले सम्झौता हुन नसकेको खण्डमा जुनसुकै क्षण अमेरिकाले इरानमाथि 'पूर्ण र ठूलो स्तरको' सैन्य आक्रमण गर्ने चेतावनी समेत दिए ।
यता, इरानको तर्फबाट एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकालाई फेरि त्यस्ता "रणनीतिक गल्ती र गलत अनुमान" नगर्न सचेत गराएका छन् । पाकिस्तानी मध्यस्थकर्तामार्फत अमेरिकासँग संवाद जारी राखेको इरानले युद्धको तत्काल अन्त्य, समुद्री नाकाबन्दी फुकुवा र युद्ध क्षतिको क्षतिपूर्ति हुनुपर्ने अडान राख्दै आएको छ ।
ट्रम्पको यो घोषणा यस्तो समयमा आएको छ, जब अमेरिकामा इरानसँगको युद्धको जनसमर्थन घट्दै गइरहेको छ । हालै सार्वजनिक भएको 'न्यूयोर्क टाइम्स/सिएना' को मत सर्वेक्षणअनुसार ६४ प्रतिशत अमेरिकी मतदाताले इरानसँग युद्ध गर्ने निर्णय गलत भएको मानेका छन् भने ट्रम्पको कार्यसम्पादन अनुमोदन दर (अप्रूभल रेटिङ) पनि खस्केर मात्र ३७ प्रतिशतमा सीमित भएको छ । यसले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई ठूलो धक्का लाग्न सक्ने अनुमान गरिएको छ ।
गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका-इजरायल र इरानबीचको युद्धका कारण खाडी देशहरू त्रसित छन् । इरानसँग भएका अत्याधुनिक ड्रोन र क्षेप्यास्त्रहरूले आफ्ना विमानस्थल, पेट्रोकेमिकल प्लान्ट र खानेपानीका लागि महत्त्वपूर्ण डिसालिनेशन (नुनिलो पानी शुद्धीकरण) प्लान्टहरूमा क्षति पुर्याउन सक्ने भय उनीहरूमा छ ।
त्यस्तै, इरानले विश्वको २० प्रतिशत तेल र ग्याँस ओसारपसार हुने 'हर्मोज' माथि आफ्नो नियन्त्रण कायम राख्दै सो जलमार्ग ठप्प पारेका कारण विश्वभर इन्धनको मूल्यमा भारी वृद्धि भएको छ । ट्रम्पले आक्रमण स्थगित गरेको बताएलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भने केही गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस