अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका-इजरायल र इरानबीचको युद्ध अन्त्य गर्ने समझदारी पत्र लगभग तय भइसकेको र यसलाई अन्तिम रूप दिन मात्र बाँकी रहेको बताएका छन्।मध्यपूर्वका नेताहरूसँगको टेलिफोन वार्तापछि ट्रम्पले सम्झौतामा महत्त्वपूर्ण मानिएको होर्मुज स्ट्रेट खोल्ने विषय पनि समावेश हुने जानकारी दिएका हुन्।ट्रम्पले शनिबार कतार, साउदी अरब, यूएई, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेताहरूसँग कुराकानी गरेपछि यो घोषणा गरेका हुन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग पनि छुट्टै कुराकानी गरेका थिए।
ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘सम्झौताका अन्तिम पक्ष र विवरणहरूबारे हाल छलफल भइरहेको छ, र यसलाई छिट्टै घोषणा गरिनेछ।’यस विषयमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले संवाद सहज बनाउन आफ्नो देशले प्रयास जारी राख्ने बताउँदै छिट्टै अमेरिका-इरान वार्ताको आतिथ्यता गर्ने आशा व्यक्त गरेका छन्।टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले वार्ताको प्रगतिप्रति खुसी व्यक्त गर्दै सम्झौताले होर्मुज स्ट्रेटमा स्वतन्त्र आवतजावत सहज बनाउने बताए।त्यस्तै, इजिप्टको राष्ट्रपतिको कार्यालयले सबै पक्षलाई कूटनीतिक पहललाई सदुपयोग गर्दै सम्झौतामा पुग्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस