१५ भदौ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै सिंहले भारतीय सरकार तथा जनताको तर्फबाट नेपाल सरकार र सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्।
गत भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्राकृतिक विपत्तिबाट नेपाली नागरिकसँगै भारतीय तथा अन्य विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गरेका छन्।
सिंहले आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समार्फत पनि बाढीमा ज्यान गुमाउनेका परिवारप्रति प्रार्थना र समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
नेपाल र भारतबीचको गहिरो सम्बन्धको स्मरण गर्दै सिंहले भारत सधैं नेपालको सुख–दुःखको साथी रहेको बताएका छन्।
उनले कठिन परिस्थितिमा नेपालका नागरिकसँग काँधमा काँध मिलाएर भारत उभिएको उल्लेख गर्दै नेपालको खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा सहयोग गर्न भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी रहेका बेला भारतीय पक्षबाट आएको यो प्रतिबद्धतालाई विपद्पछिको सहयोग र पुनर्स्थापनाका लागि महत्वपूर्ण मानिएको छ।


प्रतिक्रिया दिनुहोस