सोमबार, भदौ १५ गते २०८३

रसुवागढी सुरुङभित्र कोही नभेटिएको सरकारको दाबी, ड्युटीमा रहेका ३ कर्मचारी खोइ?

रसुवागढी सुरुङभित्र कोही नभेटिएको सरकारको दाबी, ड्युटीमा रहेका ३ कर्मचारी खोइ?

अखबार दैनिक
सोमबार, भदौ १५ २०८३
  • रसुवागढी सुरुङभित्र कोही नभेटिएको सरकारको दाबी, ड्युटीमा रहेका ३ कर्मचारी खोइ?

    १५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजीमा कोही पनि नभेटिएको नेपाली सेनाले जनाएको छ। तर, बाढी आउँदा सुरुङभित्रै ड्युटीमा रहेका तीन कर्मचारी अझै सम्पर्कविहीन छन्।

    आयोजनाका अनुसार बाढी आएको समयमा किशोर न्यौपाने (पाल्पा), सन्तोष पौडेल (प्युठान) र छिरिङ तामाङ (रसुवा) सुरुङभित्र ड्युटीमा थिए। उनीहरूको अवस्था अहिलेसम्म अज्ञात छ।

    नेपाली सेना, आयोजनाका इन्जिनियर तथा ड्रोन टोलीले सुरुङको अन्तिम भागसम्म पुगेर खोजी गर्दा समेत कुनै मानवीय उपस्थिति फेला नपरेको दाबी गरेको छ। खोजीका क्रममा कोही नभेटिएपछि उद्धार टोली धुन्चे फर्किएको छ।

    तर, सुरुङभित्र ड्युटीमा रहेका तीन जना कर्मचारी कहाँ गए भन्ने प्रश्न भने अनुत्तरित छ। बाढीका बेला उनीहरू सुरुङभित्रै रहेको पुष्टि भए पनि खोजीका क्रममा उनीहरू नभेटिनुले उद्धार तथा खोजी प्रक्रियामाथि प्रश्न उठेको छ।

    आयोजनाका एक अधिकारीका अनुसार बाढी आउँदा सुरुङभित्र तीन जनासहित बाहिरी क्षेत्रमा गरी करिब १४–१५ जना कर्मचारी तथा श्रमिक कार्यरत थिए। प्लान्ट सञ्चालनमा रहेकाले कर्मचारीहरू नियमित सिफ्टअनुसार खटिएका थिए।

    ‘प्लान्ट चलिरहेको थियो। नाइट सिफ्टका कर्मचारी ७ बजे गएर बिहान ७ बजेसम्म त्यहाँ ड्युटी गर्थे,’ ती अधिकारीले भने।

    आयोजनामा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म र बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म दुई सिफ्टमा कर्मचारी परिचालन हुने गरेका थिए।

    बाढीपछि आयोजनाका अनुसार हाल ९३ कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। तीमध्ये ४९ जना रसुवागढी हाइड्रोपावर कम्पनीका कर्मचारी, दुई जना ज्यालादारी कर्मचारी तथा निर्माण कम्पनीतर्फका ४२ जना छन्।

    निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सीडब्लूईका चार जना र भेनस कन्स्ट्रक्सनका तीन जना पनि सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ।

    बाहिरी क्षेत्रमा नाइट सिफ्टमा खटिएका कर्मचारीबाहेक सरसफाइमा दुई जना, दुई जना गार्ड, दुई जना कुक र एक जना इन्जिनियरसमेत कार्यरत रहेको आयोजनाले जनाएको छ।

    Rasuwagadhi-Surung-1.jpg

    आइतबारदेखि मात्रै खोजी

    बाढी आएलगत्तै आयोजनामा फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार तत्काल सुरु हुन सकेको थिएन। शनिबारसम्म उद्धार टोली आयोजनास्थलमा पुग्न नसकेपछि आइतबारदेखि मात्रै सुरुङभित्र खोजी सुरु भएको थियो।

    सुरुङको अन्तिम भागमा मानिस फसेको हुन सक्ने आशंकामा नेपाली सेनाको टोली इन्जिनियर तथा ड्रोनसहित सुरुङभित्र प्रवेश गरेको थियो। टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर खोजी गरे पनि मानिस फेला नपरेको जनाएको छ।

    आयोजनाका अधिकारीले पनि आफ्ना इन्जिनियरहरू नेपाली सेनाको टोलीसँगै सुरुङभित्र गएको पुष्टि गरेका छन्।

    तर, बाढी आउँदा सुरुङभित्रै ड्युटीमा रहेका तीन कर्मचारीको अवस्थाबारे अझै कुनै यकिन जानकारी प्राप्त भएको छैन। उनीहरू सुरुङबाट बाहिर निस्किए वा बाढीले अन्यत्र पुर्‍यायो भन्नेबारे पनि स्पष्ट हुन सकेको छैन।

    यसअघि आयोजनाको भूमिगत डिसेन्डरमा फसेका ६ जनामध्ये चार जना भने दुई दिन लगाएर आफैं बाहिर निस्कन सफल भएका थिए। उनीहरूलाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याएको थियो।

    यस घटनाले सुरुङभित्र विस्तृत खोजी भइसकेको दाबी गरिए पनि ड्युटीमा रहेका तीन कर्मचारीको अवस्था अझै अज्ञात रहनु गम्भीर प्रश्न बनेको छ। सुरुङभित्र कोही नभेटिएको हो भने ती तीन कर्मचारी कहाँ गए? भन्ने प्रश्नको जवाफ खोजी तथा उद्धार टोलीले दिनुपर्ने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ