२३ भदौ, टोकियो । जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् ।
जापान प्रहरीले हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीया अमिस्ता तामाङ र २२ वर्षीय प्रबिन लामालाई पक्राउ गरेको हो ।
झापा चन्द्रगढीकी २५ वर्षीया लक्ष्मी राजवंशी गत १९ अगस्टमा फुकुओकास्थित एक खोलामा मृत अवस्थामा फेला परेकी थिइन् । उनको टाउकोमा प्रहार गर्नुका साथै घाँटीमा डोरीले कसेर बरन्डाबाट नदीमा खसालिएको हुनसक्ने प्रारम्भिक आशंका प्रहरीले गरेको छ ।
घटनाबारे अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले तीन नेपालीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूले घटनामा आफ्नो संलग्नता स्वीकार वा अस्वीकार गरेको विषय भने प्रहरीले सार्वजनिक गरेको छैन ।
अनुसन्धानका क्रममा मृतक लक्ष्मी र पक्राउ परेका प्रबिन लामाबीच प्रेम सम्बन्ध रहेको तथ्यसमेत खुलेको छ । प्रबिन र पक्राउ परेकी सन्जु एउटै घरमा बस्दै आएको पनि अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
लक्ष्मीको हत्या हुनुअघि उनीहरूबीच के–कस्तो सम्बन्ध र विवाद थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले घटनाको पृष्ठभूमिमा प्रेम सम्बन्धसँग जोडिएको विवाद हुनसक्ने आशंका गरेको छ । यद्यपि हत्या के कारण र कसरी भयो भन्ने विषयमा अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ ।
पक्राउ परेका तीनै जनासँग प्रहरीले घटनासँग सम्बन्धित प्रमाण तथा उनीहरूको भूमिकाबारे विस्तृत सोधपुछ गरिरहेको छ ।
जापानमा नेपाली युवतीको हत्या भएको घटनामा नेपाली नै पक्राउ परेपछि यो प्रकरणलाई नेपाली समुदायले समेत चासोका साथ हेरिरहेको छ । प्रहरीले अनुसन्धान पूरा गरेपछि घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस