काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगनकुमार थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बधाई तथा शुभकामना दिएका छन्।
शर्माले गगनको सभापति निर्वाचित हुनु यात्रा सुरु भएको संकेत मात्र भएको भन्दै लक्ष्य प्राप्त गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्। उनले पार्टीभित्रका भिन्न मत र मनलाई जोड्दै देशलाई गन्तव्यमा पुर्याउनुपर्नेमा जोड दिएका छन्।
‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन ! हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्याउनु छ देशलाई,’ शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अफ्ठ्यारा आउँछन्, सामना गर्नुछ संयमले । जोड्नु छ भिन्न मत र मनहरू ।’
उनले इतिहासप्रति इमानदार रहँदै विगतका गौरवलाई पछ्याउन र कमजोरी सच्याउनुपर्ने बताएका छन्। देशको समुन्नति सम्भव बनाउनुपर्ने भन्दै शर्माले ‘सक्नुपर्छ र सक्नेछौँ’ भन्ने विश्वाससमेत व्यक्त गरेका छन्।
गगनप्रति आफू अपार विश्वास र दृढ साथसहित उभिएको उल्लेख गर्दै शर्माले लेखेका छन्, ‘लु ब्रदर– बलियो कमान्डका लागि शुभकामना !’
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा आज बिहान सभापतिमा निर्वाचित भएका हुन्। सभापति पदमा थापाले ६ हजार ५ सय ८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत पाएका छन्। अन्य पदाधिकारीको मतगणना भने आज दिउँसोदेखि सुरु हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस