धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनः सरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यसूचीसहित शनिबार बिहान ८ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजेसम्मका लागि सारिएको हो।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले बैठकको समय परिवर्तन गरिएको जानकारी दिएका छन्। उनका अनुसार बैठकमा प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसअघि गत बुधबार साँझ ५ बजे बस्ने तय भएको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने तयारी गरिएको थियो। तर, सरकारको आन्तरिक तयारी पूरा नभएको भन्दै बैठक बिहीबार बिहान ८ बजेका लागि सारिएको थियो। त्यसपछि पनि बैठक बस्न नसकेपछि शनिबारका लागि तय गरिएको थियो।
बजेट प्रस्तुत गर्ने विषयमा प्रदेश सरकारभित्रै विवाद देखिएको स्रोतले जनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयबीचको असमझदारीका कारण बजेट निर्माण प्रक्रियामा समस्या उत्पन्न भएको बताइएको छ।
यसअघि भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री चक्रबहादुर मल्लप्रति कटाक्ष गर्दै बजेटमा एकलौटी गरिएको आरोप लगाएका थिए। पछि उनले उक्त स्टाटस हटाएका थिए।
प्रदेशसभाको बैठक पटक–पटक सर्दा बजेट प्रस्तुत गर्ने प्रक्रिया प्रभावित भएको छ। अब अपराह्न ४ बजे बस्ने भनिएको बैठकमा सरकारले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस