बिहीबार , साउन २१ गते २०८३

पुल त बन्यो, गाडी गुड्न दिइएन

पुल त बन्यो, गाडी गुड्न दिइएन

अखबार दैनिक
बिहीबार , मंसिर २३ २०७८
  • पुल त बन्यो, गाडी गुड्न दिइएन

    २३ मंसिर २०७८ । गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने गरी त्रिशुली नदीमाथि पक्की मोटरेवल पुल बनेको तीनमहिना भयो, तर, अहिलेसम्म गाडी गुड्न सकेका छैनन्। पुल तयार भएको तीनमहिनासम्म पनि संचालनमा नआउँदा आउजाउ गर्न नपाएको गुनासो स्थानीयले गर्न थालेका छन्। 

    ‘दशैं अगावै ढलान भएको पुल अहिलेसम्म आउजाउका लागि खुल्ला गरिएको छैन,’ गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानाले भने, ‘बनिसकेको पुलबाट हिँड्न पाउनुपर्‍यो। पुल किन रोकेको भन्दै सर्वसाधारणले फोन गर्छन्।’ निर्माण पूरा भएको पुलमा बार लगाइएको छ।  

    पुलबाट सवारी साधन गुड्न दिईँदैन। सवारी साधन आउजाउ गराउन पाए फिस्लिङसम्म तरकारी ढुवानी गर्न सहज हुने गण्डकी गाउँपालिका–६ का स्थानीयको भनाई छ। पुल नचल्दा झोलुङ्गे पुलभरि तरकारी बोक्नुपर्ने बाध्यता किसानलाई छ।उक्त पुल भएर गण्डकी गाउँपालिकाको केन्द्र सहजै पुगिन्छ। तयार भएको पक्की पुल नचल्दा सिउरेनीटार, दर्बुङ, दलभञ्ज्याङ हुँदै घण्टौँ घुमेर कार्यालय आउजाउ गर्नुपर्ने बाध्यता सेवाग्राही, कर्मचारी र जनप्रतिनिधिलाई पनि छ।

    राजमार्गमा आधा घण्टामा गाउँपालिकाको केन्द्र पुगिने उक्त पुल तत्काल संचालन गर्न गाउँपालिकाले पनि निर्माण कम्पनीलाई पटक–पटक आग्रह गरेको अध्यक्ष रानाले बताए।  ‘तीन–चार महिना यता काम गर्ने मान्छे नै छैनन्’, उनले भने ‘अब केही दिनमा पनि पुल सुचारु भएन भने हामी आफैँ पुलमा राखिएको बार हटाएर सुरु गर्ने योजनामा छौं।’ लामो समय निर्माण कम्पनीले पुल सुचारु गर्ने सुरसार नगर्दा स्थानीय आक्रोशित छन्। पुल महाशाखा काठमाण्डौंले त्रिशुली नदीमाथि बिभिन्न चारवटा पुल निर्माणको ठेक्का लगाएको थियो।  

    उक्त ठेक्का सपना जेभीले लिएको हो। फिस्लिङ पुलको लागत करिब १५ करोड रुपैयाँ छ। कम्पनीका प्रतिनिधि हरि ढकालले नदीमा पानीको बहाब बढेकाले कामदार डराएको बताए। ‘पुल तयार भईसक्यो, फर्मा खोल्न बाँकी छ, नदी माथि झुण्डिएर काम गर्नुपर्छ’, उनले भने, ‘केही दिनभित्र काम सुरु गर्ने योजनामा छौं।’ पुल निर्माण कम्पनीले करिब दुईसय मिटर गण्डकी गाउँपालिका तर्फको सडक पनि ग्राबेल गर्नुपर्छ। उक्त काम पनि बाँकी छ।

    गण्डकी गाउँपालिकाका किसानलाई फिस्लिङ पुल सुचारु भएसँगै तरकारी बिक्री, खाद्यान्न ढुवानी लगायत आउजाउमा निकै सहज हुने गाउँपालिका अध्यक्ष राना बताउँछन्।

    [email protected]

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार