शुक्रबार, साउन २२ गते २०८३

दुई वर्षपछि पशुपतिमा शिवरात्रिको रौनक

दुई वर्षपछि पशुपतिमा शिवरात्रिको रौनक

अखबार दैनिक
शुक्रबार, फागुन ५ २०७९
  • दुई वर्षपछि पशुपतिमा शिवरात्रिको रौनक

    काठमाडौं : कोरोना संक्रमणका कारण दुई वर्षसम्म पशुपतिनाथमा महाशिवरात्रि पर्व मेला लागेन। पूजामा कडाइ भयो। विभिन्न समय मन्दिर बन्द गरियो। संक्रमण घटेसँगै यो वर्ष भने तयारी भव्य छ। आज शिवरात्रि पर्वका लागि विशेष तयारी गरिएको पशुपति क्षेत्रविकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापा बताउँछन्। यस वर्ष महाशिवरात्रिमा झन्डै १० लाख भक्तजन आउने अपेक्षा गरिएको जानकारी दिँदै उनले भने, ‘सरसफाइदेखि सजावट र सुरक्षा व्यवस्थापनमा भक्तजनले महसुस गर्ने गरी काम गरेका छौं।’


    थापाका अनुसार महाशिवरात्रिमा ५१ सय र ११ हजारको मात्र विशेष पूजा गरिने छ। सोका लागि क्रमशः ९० र ४ सय १३ भक्तले रसिद काटिसकेको उनले बताए। यसअघि नै एउटा ५६ हजारको र तीन जनाले २७ हजारको विशेष पूजाका लागि बुक भइसकेको छ। उनले भने, ‘शिवरात्रिजस्ता चाडपर्वमा भक्तजनको सहजता बुझेर कोषको कार्यसम्पादन समितिको बैठकले भट्टहरूकै सल्लाहमा बसाहा अगाडिको चाँदीको दानपेटिका वासुकी मन्दिर अगाडि सारेका छौं।’

    दुई वर्षपछि शिवरात्रीमा पशुपतिको दर्शन र पूजा गर्न पाउँदा दर्शनार्थी र साधुसन्त पनि मख्ख छन्। साधुसन्तहरूको आगमनसँगै पाशुपत क्षेत्रमा फूल र बत्तीले सजाइएको छ। शनिबारबाटै मन्दिरमा भीड बढेको यस क्षेत्रमा व्यवसाय गरेकाहरू बताउँछन्। ‘विगतमा महाशिवरात्रिको अघिल्लो दिन मात्र यस्तो भीडभाड देख्थेँ, यसपटक त तीन दिनअघि (शनिबार) नै नसोचेको चहलपहल पाएँ’, काठमाडौं धुम्बाराही निवासी वासु गौतमले भने। 

    एक साताअघिदेखि नै साधुसन्त र जोगीहरूको आगमन भएको कोषले जनाएको छ। पाशुपत क्षेत्रमा यसपटक वाल पेन्टिङ गरी भगवान् शिवसँग सम्बन्धित झन्डै दुई दर्जन रंगीन चित्र कोरिएका छन्। सेल्फी खिचिरहेकी भक्तपुर जगातीकी रूपा श्रेष्ठले भनिन्, ‘दुई वर्षअघि फूलैफूलको सजावटमा सेल्फी खिच्दा मन रमाएको थियो, त्यसपछि यी चित्रमा।’ 

    कोषले यस वर्ष झन्डै १५ हजारको हाराहारीमा जोगी आउने जानकारी दिएको छ। मन्दिर परिसरमा रहेको वनग्रहमा सोमबार भारत गुजरातका साधु धरम पुरी भक्तलाई बोलाउँदै थिए। महाशिवरात्रिमा पशुपतिनाथ आउँदाको आनन्द कहीँ नपाउने बताउँदै उनले भने, ‘जो महादेव देता है, ओ कोही नही देता।’ भारतकै नागाबाबा राज राजेश्वरगीका दुवै हातका हत्केला छैनन्। १५ वर्षदेखि मुक्तिनाथमा सेवारत उनी सोही समयदेखि निरन्तर शिवरात्रिमा पशुपति आउने बताउँछन्। ठुटो हातले भक्तलाई विभूति लगाउँदै आशीर्वाद दिइरहेको भेटिए। 

    कसरी नागाबाबा हुनुभयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘भगवान् शिवकै आशीर्वाद हुनुपर्छ। कोही डाक्टर हुन्छन्, कोही मन्त्री मेरो भागमा नागाबाबा हुनु रहेछ। तर, सबैभन्दा खुसी छुजस्तो लाग्छ।’ मन्दिर दर्शनमा भेटिएका ७१ वर्षीय भारतीय भक्तजन ७५ जनाको समूहमा पशुपति आएका थिए। बिहारबाट गाडी रिजर्भ गरी आएका उनीहरूको पशुपति आगमन पहिलो हो। उनी भन्छन्, ‘पशुपतिनाथको सरसफाइ, सुरक्षा, साधुसन्तको व्यवस्था, नेपालीको इमान्दारिता सबै राम्रो लाग्यो। पशुपति कोषलाई धेरै धन्यवाद।’ 

    कोषका सदस्यसचिव थापाले महाशिवरात्रिको सुरक्षाका लागि यसवर्ष नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका गरी झन्डै १० हजार सुरक्षाकर्मी परिचालन गरिने बताए। कोषले महाशिवरात्रि पूर्ण व्यवस्थित बनाउन सुरक्षा, मेला बजार, आवास, भोजन, मूल्यांकन आदि १० वटा उपसमिति बनाएर कामको बाँडफाँट गरेको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार, कोषले भक्तजनलाई भौतिक दूरी कायम राखी मास्क लगाउन र स्यानिटाइजर प्रयोग गर्न अनुरोध गरेको छ। मन्दिर प्रवेशका लागि गुहेश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोकासम्म एउटा लाइन हुनेछ। 

    मित्रपार्क–जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकासम्म अर्को लाइन हुनेछ। तेस्रो लाइनका रूपमा बत्तीसपुतली–गौशाला, एयरपोर्ट–तिलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अगाडिबाट चारशिवालय–पञ्चदेवल हुँदै दक्षिण ढोकासम्म हुनेछ। तिलगंगा राममन्दिरतर्फ समेत आवश्यकताअनुसार थप लाइन हुने कोषले जनाएको छ।

    - शिव, ज्योतिर्लिंग र महाशिवरात्रि
    -सेना दिवस, शिवरात्री र संवेदनशीलता
    -शिवरात्री, सेना दिवस र सुधारका प्रयास
    -शिवरात्रि, सेना दिवस र संवेदनशीलता
    -शिवशक्तिको महिमा र सन्देश
    -श्री शिवको प्रसाद
    -महाशिवरात्रीमा करिब १० लाख दर्शनार्थी आउने अनुमान
    -पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला
    -महाशिवरात्रि माहात्म्य
    -महाशिवरात्रिमा भगवान शिवका लागि यी मन्त्रको जप गर्नुहोस्
    -शिवका अनन्य भक्त थिए रावण
    -आज महाशिवरात्रि पर्व, पशुपतिमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार