बिहीबार , साउन २१ गते २०८३

पुरुषहरू नै किन बढी पियक्कड हुन्छन् ?

पुरुषहरू नै किन बढी पियक्कड हुन्छन् ?

अखबार दैनिक
सोमबार, फागुन ८ २०७९
  • पुरुषहरू नै किन बढी पियक्कड हुन्छन् ?

    जगजाहेर छ, महिलाको तुलनामा पुरुषहरू बढी रक्सी पिउँछन् । जुनसुकै समाज, जुनसुकै घरमा नियाल्नुहोस्, रक्सी पिउने कुरामा पुरुष बढी अग्रसर हुन्छन् ।

    संभवत विश्वभरमै पुरुषहरू बढी पियक्कड छन् । भलै यसबारे मिहिन रूपमा कुनै खोज अनुसन्धान नभएको हुनसक्छ । खानपानको सवालमा खासै लैङ्गिक असमानता देखिँदैन । यद्यपि रक्सीको तुलनामा भने यो असमानता निकै फराकिलो छ ।

    धेरैजसो घरभित्र जहाँ पुरुष हरेक साँझ वा जमघटमा रक्सी पिइरहेका हुन्छन्, महिला भने जुस वा हल्का पेयमा रमाइरहेका हुन्छन् । कुनै रेस्टुरेन्ट, भोजभतेर, भट्टी आदिमा रक्सी पिउँदै जमघट गर्नेहरूमा पुरुषहरू नै हुन्छन् । महिलाहरूको यस्तो जमघट देख्नु दुर्लभ हो ।

    आखिर किन पुरुषहरू बढी पियक्कड हुन्छन् ?
    पुरुष र महिलाको शारीरिक संरचनामा केही भिन्नता हुन्छ । पुरुषको शरीर रचना जुन ढंगले भएको छ, त्यसले रक्सी खपत गर्ने सामथ्र्य बढी राख्छ भनी एक अध्ययनमा उल्लेख छ । सन् २०१० मा रक्सी खपतमा लिङ्ग भिन्नता जाँच गर्ने अध्ययनमा शोधकर्ताहरूले यो कुरा बाहिर ल्याएका हुन् ।

    यसको कारण के पनि बताइएको छ भने पुरुषको शरीरमा हुने बोसोको मात्रा महिलाको तुलनामा कम हुन्छ । रक्सीको कारण शरीरमा बोसो जम्मा हुने भएकाले पुरुषले रक्सीको स्वादमा बढी आनन्द लिने गर्छन् ।

    यद्यपि मनोविद्हरु यो तर्क मान्न तयार छैनन् । यसमा सदियौंदेखि गढिएको पितृसत्ता सोंच नै मूल कारण हो भन्ने उनीहरुको भनाई छ । मनोविद् नन्दिता शर्मा भन्छिन्, ‘कुनैपनि कुरामा पुरुष हावी हुनु भनेको यो समाजले स्थापित गरेको मान्यताले गर्दा हो । पितृसत्तात्मक सोंचसँगै हुर्किएको समाजमा पुरुषले बढी स्वतन्त्रताको उपभोग गर्ने परम्परा छ । उनीहरुले निर्धक्क र खुलेआम रक्सी पिउनुमा पनि कहीँ न कहीँ यहि सोंचले काम गरेको हो ।’

    पुरुषले हरेक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन खोज्ने मनोविज्ञानकै कारण रक्सीमा पनि उनले बढी हक खोज्ने गरेको मनोविद् शर्माको तर्क छ ।

    ‘पुरुषले बढी रक्सी पिउने कारण सामाजिक सिकाई पनि हो’ उनी भन्छिन्, ‘पुरुषको रक्सी पिउने बानीलाई समाजले सहर्ष स्विकारेको छ, जसले गर्दा पनि पुरुषहरू बढी पियक्कड भएका हुन् ।’ मनोविद शर्माका अनुसार पुरुषले घरको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिएको हुन्छ । उसले धेरै शारीरिक परिश्रम गर्नुपर्छ । त्यसैले पनि उसलाई धेरै कुराको तनाव हुन्छ, जुन तनावलाई कम गर्न रक्सी पिउन छुट दिइन्छ ।

    रमाइलो गर्न होस् वा दुःख भुलाउने बहानामा, पुरुषहरु रक्सीको साथ खोज्छन् । यो कुरालाई परिवार र समाजले पनि चुपचाप स्विकारेको छ ।

    ‘रक्सी पिउने मान्छेको सिटिस्क्यान गर्दा मस्तिष्क सुकेको देखिन्छ’ समाजले महिलाको तुलनामा पुरुषलाई बढी स्वतन्त्रता दिएको छ । जहाँ महिलाहरु एक्लै हिँडडुल गर्न छुट दिइदैन, त्यहाँ पुरुषलाई निर्धक्क हिँड्न दिइन्छ । जहाँ कतै गएकी महिलालाई राती चाडै घर आउन उर्दी जारी गरिन्छ, त्यहाँ पुरुषलाई आफुखुसी घर फर्कन दिइन्छ । जहाँ महिलालाई साथीसंगीसँग कुनै जमघटमा मस्त रमाउन बन्देज गरिन्छ, त्यहाँ पुरुषलाई उन्मुक्त रमाउन दिइन्छ । यस किसिमको परिपाटीकै अवशेष रक्सी पिउने प्रवृत्तिमा पनि रहेको क्लिनिकल मनोविद् तृष्णा विष्टको भनाई छ ।

    ‘हुन त पुरुषहरू बढी पियक्कड हुनुमा कुनै एउटा मात्र कारण छैन’ क्लिनिकल मनोविद् विष्ट भन्छिन्, ‘कोही बाबु बाजेबाट सिक्छन्, कसैले पारिवारिक वातावरण वा साथीभाईसको संगतबाट, कसैले परिस्थितीवश रक्सी पिउन थाल्छन् ।’

    जनरल फिजिशियन डा. सन्जय शाहका अनुसार पुरुषहरुले बढी रक्सी पिउनुमा कतिपय सामाजिक मान्यतासँगै शारीरिक बनावट पनि मूल कारण हो । महिलाको शरीर जसरी कोमल हुन्छ, पुरुषको अलि बलियो हुनेगर्छ । यस्तो शरीरले रक्सी जस्तो पेय पचाउन पनि सक्छ । ‘पुरुषको शरीरमा एउटा टेस्टोट्रोन भन्ने हर्मोन हुन्छ’ डा शाह भन्छन्, ‘यसले रक्सी पचाउन सक्छन् ।’

    पुरुषहरु बढी पियक्कड हुनुमा उनीहरुले व्यवहारिक जिम्मेवारी बोक्नुपर्ने बाध्यता र त्यसलाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा उत्पन्न हुने तनाव पनि हो भनिन्छ । घर–परिवारको आर्थिक बोझ उनीहरुको टाउकोमा हुन्छ । घर–व्यवहार मिलाउनुपर्ने उनीहरुको जिम्मेवारी हुन्छ । यस्तो काम–व्यवहारलाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा उनीहरुमा तनाव पैदा हुन्छ ।

    वरिष्ठ न्यूरो सर्जन प्रा. डा. राजीव झाका अनुसार रक्सी पिएको सुरुवाती चरणमा मान्छेले आनन्द अनुभूत गर्छन् । ‘एकदमै रिल्याक्स महसुष गर्छन्’ उनी भन्छन्, ‘यसको कारण के हो भने रक्सी पिएपछि एउटा विशेष हर्मोनको श्राव हुन्छ जसलाई ह्याप्पी हर्मोन भनिन्छ । यसले उनीहरुलाई आनन्द अनुभूत गराउँछ ।’

    यसरी क्षणिक आनन्दका लागि पुरुषहरु रक्सी पिउने गर्छन्, जो कालन्तरमा उनीहरुको बानीमा रुपान्तरण हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार