बिहीबार , साउन २१ गते २०८३

मोफसल साहित्यमा संस्कृतिको प्रयोग : आजको आवश्यकता

मोफसल साहित्यमा संस्कृतिको प्रयोग : आजको आवश्यकता

बिहीबार , मंसिर २८ २०८०
  • मोफसल साहित्यमा संस्कृतिको प्रयोग : आजको आवश्यकता

    पृष्ठभूमि
    नेपाली वाङ्मयको व्यापकताको सीमा फैलँदो अवस्थामा रहेको छ । राष्ट्रिय, प्रादेशिक र स्थानीय स्तरमा प्राज्ञिक संरचनाको स्थापनाका साथै स्थानीय बुद्धिजीवीहरूमा आएको जागरुकताको कारण नेपाली वाङ्मयले तलैबाट जरा हाल्न थालेको महसुस हुन थालेको छ । महाकवि देवकोटा र अन्य स्रष्टाहरूले नेपालका कुना कन्दरा र देहातहरूमा हजारौँ देवकोटाहरू जन्मेका छन्, हजारौँ भानुभक्तहरू जन्मेका छन् त्यसै भनेका होइनन् । नेपाली समाजमा रहेको लोकोक्तिको अध्ययन अनुसन्धान गर्न सकिए पनि नेपाली वाङ्मयको व्यापकता मापन गर्न सकिने थियो । तर लोकोक्ति वा मौखिक साहित्य नेपालको लोपोन्मुख अवस्थामा रहेको मौलिक साहित्य हो । यसबाट हाम्रो संस्कृति, समाज, इतिहासलाई राम्रैसँग हामीले बोध गर्न सक्छौँ । त्यसै अभिप्रायको आलोकमा यो लेखन सम्बन्धित रहेको छ ।

    मोफसलको परिभाषा


    प्रज्ञा नेपाली बृहत् शब्दकोशका अनुसार मोफसलको शाब्दिक अर्थ र परिभाषा १. (नाम) नगर वा मुख्य सहरदेखि बाहिरको ठाउँ, जिल्ला, प्रान्त,  २. (विशेषण) फैलिएको, सविस्तार,  ३. (विशेषण) राजधानीभन्दा बाहिरको ।

    यसरी हेर्दा मोफसलको सरलीकृत अर्थ वा उदाहरणलाई यसरी व्याख्या गर्न सकिन्छ । नेपालको सन्दर्भमा काठमाडौँइतर जिल्ला वा भूभाग मोफसल हुन् । अर्को अर्थका रुपमा काठमाडौँको मूल बजार क्षेत्रभन्दा बाहिर काँठ क्षेत्र पनि मूल बजारक्षेत्रबाट मोफसल क्षेत्र नै हुन् । अहिले यो आलेख इच्छाकामना गाउँपालिका चितवन र गण्डकी गाउँपालिका गोरखालाई सीमान्तीकृत गरेर तयार पार्न लागिएकोले काठमाडौँको मोफसल चितवनको भरतपुर, भरतपुरको मोफसल इच्छाकामनाको कुरिनटार, कुरिनटारको मोफलस, काहुले वा अन्य यस्तै स्थानीय गाउँहरू । त्यस्तै काठमाडौँको मोफसल गोरखाको सदरमुकाम गोरखा बजार, गोरखा बजारको मोफसल गण्डकी गाउँपालिकाको कार्यालय क्षेत्र भुम्लिचोक, भुम्लिचोकको मोफसल मकैसिङ या यस्तै अन्य स्थानीय गाउँहरू । समग्रमा हेर्दा राज्यको प्रत्यक्ष वा अप्रत्यक्ष पहुँच कम भएको क्षेत्र नै मोफसल हो भन्ने निष्कर्षमा हामी पुग्न सक्छौँ ।

    संस्कृतिको परिभाषा
    प्रज्ञा नेपाली बृहत् शब्दकोशका अनुसार शाब्दिक अर्थ र परिभाषा 

    १. (नाम) कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्यपरम्पराको समष्टि नाम । २. कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थव्यवस्था आदिमा प्रतिबिम्बित हुने र तिनका कलाकौशल, बौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूप । ३. कुनै वस्तुलाई परिमार्जन गरेर वा संस्कृतरूप दिएर चम्किलो, उज्यालो र निक्खरा बनाउने काम, संस्कार, परिष्कार । ४. धेरै समयदेखि देशकालसापेक्ष भई आन्तरिक, वैचारिक तथा पम्परागत धारणाका रुपमा विकसित हुँदै आएको र आचारविचार, रहनसहन आदिका माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरूप खुट्टिने यावत् मान्यता, भावना, चिन्तन, मनन, भौतिक अभिव्यक्तिहरूको समूह वा साधन । 

    यिनै अर्थ र परिभाषाका सन्दर्भमा भन्नुपर्दा संस्कृति जीवनशैली हो । संस्कृति संस्कारलाई प्रतिबिम्बित गर्ने साधन हो । र संस्कृति एउटा समाजको पहिचान पनि हो ।

    मोसफल साहित्यमा संस्कृतिको प्रयोग : आजको आवश्यकता 

    नेपाली वाङ्मयका क्षेत्रमा कलम चलाउने स्रष्टा, द्रष्टाहरूमध्ये पनि मोसफलमा रही नेपाली वाङ्मयको श्रीवृद्धिमा अनवरत खट्नुहुने स्रष्टा, द्रष्टाहरूले साँचो अर्थमा आफ्ना सृजनामा नेपाल र नेपाली समाजको माटो बोलेका हुन्छन् । माटोको सुगन्ध छरेका हुन्छन् । साँच्चै भन्ने हो भने उनीहरूले माटोको आवाजलाई राम्ररी बुझेरै देशभक्तिको आवाज बुलन्द पारिरहेका हुन्छन् । महलमा बसेर बाटोमा, नदीमा, खोलाखाल्सीमा फोहोर फाल्ने र गाई छोडेर कुकुर चराउन हिँड्नेहरूले नेपालको संस्कृतिलाई तिलाञ्जली दिए भनेर भनिरहँदा कुनै अत्युक्ति हुने छैन । नेपालको दूरदराजमा खडा भएका साहित्यिक, सांस्कृतिक संघसंस्थाले आफ्नो परिवेशअनुसारको समाजको आवाज मुखरित गर्न किञ्चित कन्जुस्याइँ गर्दैनन् भन्ने ज्वलन्त उदाहरणका रूपमा मोफसलमा रहेर क्रियाशील संस्थाहरूले देखाइरहेका छन् ।


    चेपाङ जातिको संस्कृति, कला र तिनको रहनसहनका बारेमा विस्तृत व्याख्या, चिउरी बोटको दाइजो, भिरमौरीको मह, गिट्ठा भ्याकुरको किंवदन्ती र यथार्थ परिघटना नेपाली साहित्यमा भित्रिनुपर्ने जुन आवश्यकता आज टड्कारो देखिन्छ त्यसरी नै गुरुङ र मगर समुदायको घाँटुको जगेर्ना, रोदीघरहरूको जगेर्ना गर्न सके स्थानीय सरकारहरू थप संस्कृतिप्रति बफादार रहेको ठहर्न सक्दछ । एकादशी जात्रा, देउराली जात्रा, सिमेभुमे पूजा, न्वागी पर्वको रौनक स्थानीय क्षेत्रका गहना हुन् । स्थानीयविकासको आधार संस्कृति पर्यटन हुनुपर्छ भन्ने मूल ध्येय अहिलेको संघीयताले युक्त मुलुकका जनप्रतिनिधिहरूले बुझ्न जरुरी छ । मेरी आमाले गाउने गरेको तिज गीत, सिलोकहरू, दशैँ गीतहरूको प्रवर्धन गर्न सके नेपाली समाजको जिउँदो इतिहास संरक्षित रहने थियो । यिनको अध्ययन, अनुसन्धान गर्नु स्थानीय बुद्धिजीवी समुदायको अहम् भूमिका रहेको छ । स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयहरूले आम विद्यार्थीहरूमाझ ऐतिहासिक, सांस्कृतिक मूर्त अमूर्त सम्पदालाई चिरस्थायी बनाउनु पनि आजको आवश्यकता रहिआएको छ ।


    नेपाली समाज जसरी विविधताले युक्त रहेको छ त्यसै गरी स्थानीय तहहरू पनि विविधताले युक्त छ । विशेष गरी गण्डकी गाउँपालिका, गोरखा र इच्छाकामना गाउँपालिका चितवन सापेक्षका दृष्टिले समान संस्कृति, समान जातिगत विविधता रहेको हामी पाउँछौँ । त्रिशूली नदीले भौगोलिक व्यवस्थापनलाई पृथक् राखेको भए तापनि समान संस्कृति, समान जातीय विविधताका कारण यी दुई पालिकाहरू सँगसँगै विकासको गतिमा दौडन सके यस भेगको विकास सहज हुने अवस्था छ । यसरी हेर्दा गोरखा गण्डकी गाउँपालिका र चितवन इच्छाकामना गाउँपालिकामा गुरुङ, मगर, चेपाङ, बाहुन क्षेत्री, दलित समुदायको उपस्थिति लगभग समान स्तरकै देखिन्छ । आर्थिक अवस्थामा समेत दुवैतिरका मानिसहरूको उस्तै उस्तै अवस्था छ । सांस्कृतिक सुसम्बन्धको व्यवस्थापन र बिहेवारीको सम्बन्ध पनि दुई पक्षमा समान नै रहेको भान हुन्छ । यस प्रकारको अवस्थामा नेपाली संस्कृति र साहित्यमा कलम चलाउनेहरूले दुवै पालिकाका स्थानीय लोकविश्वास, लोकभाका, लोकगीत, लोकपरम्परालाई केन्द्रबिन्दुमा राखेर सृजनात्मक दायित्व पूरा गर्नुपर्ने आवश्यकता छ । त्यसै भेगका समाजसेवी कीर्तिशेष होमनाथ घिमिरेका कुराकानीलाई नै गम्भीरतापूर्वक लिई साहित्यमा ढाल्ने हो भने त्यस भेगको समग्र इतिहास, संस्कृतिको बोध हुन सक्छ । यसै सन्दर्भमा होमनाथ घिमिरेले भन्नुभएको एउटा किस्सा यहाँ जोड्न मन लाग्यो - केन्द्रीय सरकारदेखि नै जिल्ला पञ्चायत हुँदै गाउँलाई सरसफाई तुल्याउने हेतुले एक घर एक शौचालयको अवधारणा ल्याइएको थियो । संयोगवश होमनाथ घिमिरे महादेवडाँडाडाको प्रधानपञ्च हुनुहुन्थ्यो । शौचालय निर्माण अभियानको अन्त्यमा जिल्लाका सबै प्रधानपञ्च बोलाइए । भेला भएका प्रधानपञ्चहरूमध्ये केही आफूले गरेको सफलतापूर्ण कार्यको आत्म प्रशंसा गर्न केन्द्रित थिए भने केही निन्याउरो मुख बनाएर सफल नभएकोमा आत्माग्लानी गरिरहेका थिए । प्रधानपञ्च होमनाथ घिमिरेको पालोमा उनले विना डरत्रास भनेछन्– “महोदय मेरो पञ्चायतमा त शौचालय बनाउन कसैले मानेनन् । जनता सबैले सुँगुर पालेका छन् । दिसालाई सुँगुरको आहाराका रुपमा प्रयोग गरेका छन् । खुला स्थानमा फोहोर भने नरहेको बेहोरा जानकारी गराउँछु ।”


    यत्ति किस्साले मात्रै पनि तत्कालीन ग्रामीण समाजको बिम्ब प्रस्ट हुन्छ । यसरी हाम्रा पूर्वजहरूले कथानक रूप दिएका आहान, किस्सा र उखान टुक्कालाई जोडेर साहित्य सृजना गर्न सकेको अवस्थामा साँच्चै नेपाली साहित्यमा स्थानीय स्वाद प्राप्त हुन्छ भने हजारौँ देवकोटा र भानुभक्तहरू जन्मन सक्छन् । नेपाली राष्ट्रियताको प्रवर्धनमा यसले दरिलो टेवा दिन सक्छ । नेपाली समाज र संस्कारलाई जोडेर इतिहास र वर्तमानलाई जोड्ने सेतुको काम स्थानीय कला, संस्कृतिको प्रवद्र्धन, उत्खनन र श्रीवृद्धिले पु¥याउन सक्छ भन्ने विश्वास लिन सकिन्छ ।


    चेपाङ समुदायको विशिष्टता आफ्नै किसिमको रहेको छ । गुरुङ समुदायको आफ्नै संस्कार र संस्कृति रहेको छ । मगर जातिको छुट्टै संस्कार र संस्कृति छ । बा्रह्मण क्षेत्री र दलितहरूको आआफ्नै संस्कृति र संस्कार रहेको छ तर पनि यस भेगका मानिसहरू सहअस्तित्वलाई स्वीकार गर्दै सामूहिक हितका निम्ति लडिरहेका छन् । व्यवस्था परिवर्तनका निम्ति यिनीहरू एकताबद्ध भए । विकास निम्ति एकताबद्ध भइरहेका छन् । जातीय आधारमा यस भेगमा उल्लेख गर्नुपर्ने नै गरी कुनै विभेद रहेको पाइँदैन । बहुसंस्कृति भित्रको एकता अद्वितीय रहेको छ । यस सन्दर्भमा सबैले सबैको इज्जत, सम्मान गर्दै आफ्नो पूर्खाको गौरवपूर्ण इतिहास, संस्कृतिको पुनर्उत्थान र जगेर्ना गर्न सके यस क्षेत्रको विकासमा कायापलट हुन सक्ने छ ।

    नेपाली साहित्यका क्षेत्रका लाग्नुहुने विद्वान् लेखक, सर्जकहरूले स्थानीय भाषा, संस्कृति, रहनसहन आदिलाई आफ्ना साहित्य सृजना र अनुसन्धानमा केन्द्रित गरी अघि बढ्नु जरुरी छ । चेपाङ संस्कृतिलाई टेवा दिने उद्देश्यले ब्राह्मण स्रष्टाले सिर्जना गर्दा कुनै हानि हुने छैन । गुरुङ संस्कृतिलाई उत्थान गर्ने हेतुले कुनै नेवार समुदायको विद्वान्ले कलम चलाउँदा कुनै हीनताबोध गर्नुपर्ने छैन । यसरी सहभाव र सहअस्तित्वको परिकल्पना सहित लेख्न सक्नेले लेखेर, बोल्न सक्नेले बोलेर लेख्य र कथ्य साहित्यलाई मर्न नदिईकन अगाडि बढाउन सके साँच्चै इच्छाकामना, गण्डकी गाउँपालिकाका स्रष्टाहरू हामी मोफसलका हौँ भनेर हीनताबोध गर्ने ठाउँमा माथि उठ्न सक्छन् ।


    सामाजिक क्षेत्रमा लागेका केही सामाजिक, सांस्कृतिक र लेखकीय व्यक्तित्व निर्माण गरेका हीरालाल उपाध्याय, भवनाथ पोख्रेरल, होमनाथ घिमिरे लगायतका परिवारजन तथा उनीहरूसँग सम्बन्धित व्यक्ति, व्यक्तित्वबाट विभिन्न विषयवस्तुको जानकारी लिएर त्यस भेगको विकास, समृद्धि र सांस्कृतिक रुपान्तरणको अभियानलाई अगाडि बढाउन सके यहाँका आम मानिसको इज्जत, मान प्रतिष्ठा अवश्य बढ्ने छ । शिरमा अग्रजको आशीर्वाद लिएर विनास्वार्थ कर्म गर्नु आजको आवश्यकता हो ।

    स्थानीय समाज र क्षेत्रमा भएका विभिन्न विद्यालयहरूले स्थानीय संस्कृति झल्कने अतिरिक्त सांस्कृतिक कार्यक्रम, साहित्यिक प्रतियोगिताका कार्यक्रम गर्नु पनि आजको मुख्य ध्येय हो । स्थानीय सरकारको पहुँचमा अहिले सबै मानिसहरू रहन सक्छन् । संस्कृति क्षेत्रमा स्थानीय सरकारले वार्षिक बजेट नै विनियोजन गर्ने गरेको छ । स्थानीय वासिन्दाले संस्कृति क्षेत्रमा छुट्ट्याइएको बजेट के कसरी खर्च भइरहेको छ तिनको अनुगमन गर्नु जरुरी छ । मन्दिर निर्माण र मन्दिरका पेटी निर्माणका नाममा संस्कृति क्षेत्रका बजेट स्वाहा पार्ने पद्धतिलाई रोकथाम गरी स्थानीय समाजको मौखिक अनि मौलिक इतिहास, संस्कृति, लोकपरम्परालाई जगेर्ना गर्न विभिन्न अडियो, भिडियो सामग्रीहरू निर्माण गर्न सकिन्छ । पुरातन संस्कृतिलाई खोज अनुसन्धान गर्न सकिन्छ । संस्कृतिलाई समयानुकूल परिवर्तन गर्न विभिन्न परियोजना निर्माण गर्न सकिन्छ । सुसभ्य समाज निर्माणका निम्ति विभिन्न योजना, चेतनामूलक कार्यक्रम, गोष्ठी, सेमिनारहरू सञ्चालन गर्न सकिन्छ । यसका निम्ति स्थानीय बुद्धिजीवी र स्रष्टाहरू चनाखो हुनु जरुरी छ । सांस्कृतिक जागरणलाई मुख्य उद्देश्य बनाई अगाडि बढ्नु जरुरी छ ।

    अन्त्यमा
    मोफसलको साहित्य जनमुखी, जनकेन्द्रित हुनुका साथै स्थानीय कला, कौशल, संस्कृति, इतिहास र लोकपरम्पराको जगेर्ना गर्ने खालको हुनुपर्छ । साहित्य सिर्जनामा तल्लीन हुनेहरूले यिनै विषयवस्तु माथि केन्द्रित भई समाजलाई झकझक्याइ रहनु पर्दछ । स्थानीय क्षेत्रमा सिर्जना गर्ने विषयहरू अथाह रहेका छन् । तिनै स्थानीय भाषा, संस्कृति, परम्परालाई विषयवस्तु बनाई तिनको श्रीवृद्धिका निम्ति साहित्य लेखिनु आजको प्रमुख आवश्यकता रहेको छ । स्थानीय तहबाट माथि उठेर राष्ट्रिय व्यक्तित्व निर्माण गरेका व्यक्तिहरू, तत्क्षेत्रका सार्वजनिक निर्माणका सम्पत्तिहरू, प्राकृतिक सम्पदाहरू, सांस्कृतिक सम्पदाहरू, ऐतिहासिक दस्तावेजहरू हामी सबैको साझा सम्पत्ति हो भन्ने विषयलाई आत्मसात् गरी तिनलाई साहित्यको विषयवस्तु बनाई सृजनालाई अगाडि बढाउनु नै आजका स्रष्टाको अहम् कर्तव्य रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार