आइतबार, भदौ १४ गते २०८३

लकडाउन डायरीः गाउँलाई कति माया गरेको छु, झरना,खोला,नाला र वन जंगल साक्षी छन्

लकडाउन डायरीः गाउँलाई कति माया गरेको छु, झरना,खोला,नाला र वन जंगल साक्षी छन्

अखबार दैनिक
शुक्रबार, चैत २८ २०७६
  • माधव पराजुली आफू जन्मेको ठाउँ प्यारो अनि आफ्नो गाउँ राम्रो प्रायः सबैलाई लाग्छ । आफ्नो ठाउँलाई असाध्यै माया गर्ने मध्येको एक म हुँ भन्दै आफुलाई उभ्याईरहदाँ गौरवान्वित ठानेको छु । आफ्नो गाउँको कुरा गरिरहदा गाउँकै पहाडको खोँचबाट हाम्फाल्ने गरेको निडर स्वभावले म दुई चार शब्द कोर्दै छु । सायद ठुला ठुला पहडा चढ्दै हाम फाल्दै गरेको कारणले होला ज्यान कसैसगँ पनि नडगमगाउने निडर बनेको । गाउँको प्रेम, सद्भाव, सहयोग आपसमा फुल्थ्यो, फल्थ्यो, झाँगिन्थ्यो, लहराउँथ्यो र मग्मगाउँथ्यो । यहाँको सामाजिक एकता, सहिष्णुता र मेलजोलताको गरिमामय पुरानोे संस्कारजन्य परिवेशकै कारणले होला म आज शसक्त बन्दै गएको अनि स्वच्छ गाउँकै कारण होला सिर्जना, कल्पना र अध्ययनको ऊर्जाशीलता पैदा भएको छ । आफ्नो गाउँमै बस्ने चाहना हुदाँ हुदै पनि असिमित प्रगतिका चाङहरु प्राप्त गर्ने अभिलाषा बोकेर म गाउँ भन्दा बाहिरको संसार सँग जुध्न विवस्त भएँ । बाहिरिए भनिरहदा मेरो शरिर गाउँमा मात्र नभएको हो, मन त मेरो गाउँका पाखा पखेरामै झुलिरहेको हुन्छ । म गाउँ भन्दा धेरै टाढा पनि छैन् । गाउँमा भने महिनाको एक वा दुई पटक अवश्य पुगेकै हुन्छ । यहाँको विकास निर्माणको बारेमा चासो म नियमित लिनेगरेको छु भने यहाँको विकास निर्माणमा मेरो पनि केही योग्दानको हिस्सा छ । सडक,शिक्षा,स्वास्थ्य,खानेपानी लगाएतको क्षेत्रलाई व्यवस्थित गर्न यो ज्यान दौडीरहेको छ, केवल आफ्नो ठाउँमा केहीँ गरौँ भनी । आफ्नो ठाउँलाई कति माया गरेको छु र गाउँ बनाउन कति यो ज्यान दौडधुप छ भन्ने कुराको साक्षी यहाँका झरना,खोला,नाला र वन जंगल छन् । गाउँ प्रतिको मेरो मोह म शब्दहरुमा उतार्न सक्दिन, न त कसैलाई साबित गर्न सक्छु नै । म जन्मेको विहादी गाउँपालिका पर्वत जिल्लाको दक्षिण भेगमा अवस्थित एक अत्यान्तै सुन्दर गाउँपालिका हो । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा बाच्छा, बर्राचौर, रानीपानी, वहाकीठाँटी, उरामपोखरा, शालीग्राम गरि ६ वटा गाउँ विकास समितिहरूलाई समेटेर विहादी गाउँपालिका घोषणा गरिएको छ । यस मध्य रानीपानी साविकको गा.बि.स. वडा नं.३ कुडादी पोखरीचौर मेरो जन्म गाउँ हो । यहाँका छहरा,खोला नाला,डाँडाकाडाँ,चौर,वन जंगल सँग पैठजोरी खेल्दै म हुर्के । निर्मल,खुलस्त र विशाल लाग्छ म जन्मेको ठाउँ, प्रेरणाको स्रोत मेरो गाउँ । आफ्नो ठाउँको कुरा गरिरहदा सँगै पढ्दाका,बाल्यकाल देखिका,उकाली ओराली,गाई बाख्रा हेर्दाका साथीलाई बिर्सन कहाँ सकिन्छ र । जनावरलाई खुल्ला चौरमा उन्मुक्तिको स्वाद चखाउदै साथीहरु सँग बेपर्वाह पूर्वक रापिलो घाममा गफिएको कहाँ भुल्न सक्छु र । चाडपर्वमा आफ्नो रितिरिवाज अनुरुप डम्फू,मादल,खैजडी र मजुराको धुनहरुको तरङ्ग सँगै विलय हुदै रात काटेको अनि त्यो देउरालीमा मुर्तीको घुम्टो उघार्दाको क्षणमा बेग्लै मज्जा थयो । पर्वत दक्षिणी भेगको रमणीय र पर्यटकीय स्थल, प्रमुख दलका नेताको उद्गमस्थल, राजनीतिक परिवर्तन र थरिथरिको समाज अनि एकता, फरक भूगोल, धार्मिक विविधता यहाँको अपरिभाष्य विशेषता हो । धार्मीक पर्यटन तथा ऐतिहासिक हिसावले महत्वपूर्ण यो गाउँपालिका भूगोल, संस्कृृति अनि पर्यटनले समग्र नेपालको अनुभूति दिलाउने ठाउँ हो । प्राकृतिक स्रोत र साधनका हिसावले भनौँ या कला संस्कृतिको हिसावले यो ठाउँ धनी मानीन्छ । मेरो गाउँपालिका विहादीको सबैभन्दा उचाइमा रहेको गोल्र्याङ टाकुरी, बच्छेश्वर मन्दिर, कालिगण्डकी नदी किनारमा रहेको विश्वकै ठुलो शालिग्राम शिला, शिवपुरी धाम, छापाकोट मन्दिर, लुरिङ्गकोट मन्दिर, शितल गुफा, रानिपानि दरवार गुफा,खड्का देवी मन्दिर, रम्भा देवि मन्दिर,देउराली डाँडा लगाएतका स्थानहरु महत्वपुर्ण पर्यटकिय स्थलका रुपमा चिनिन्छन् । जुन गाउँमा प्याराग्लाईडिङ्गको समेत सफल परिक्षण गरिएको छ । यहाँ बाट उत्तर तर्फ देखिने माछापुच्छ«े र धौवलागिरी हिमाल,दक्षिण तर्फ देखिने बेसुर गतिमा बग्ने कालिगण्डकी नदी तथा कालिगण्डकी जलविधुत आयोजनाका क्रममा बनेको ताल, लट्टरम कृषि उत्पादन गरिरहेका फाँट,प्राकृतिक मनमोहक छटा,मननै लोभ्याउने प्राकृतिक डाँडा,खोला नाला,गुफा र झर्नाहरुले मन लोभ्याईरहेको छ । कृषि तथा पशुपालन,मझौला तथा साना घरेलु उद्योगहरु र व्यपार व्यवसायलाई यहाँ मानिसहरुले मुख्य पेशा बनाएका छन् । यहाँका विशाल ढुंगाखानी क्षेत्र, कालीगण्डकीमा रहेको बालुवालाई प्रशोधन तथा अन्य निर्माणसामग्री उत्पादनको क्षेत्र,काठपैदावर र स्थानिय कृषि उत्पादनमा आधारित उद्योगहरु समेट्दै यस क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउन सकिन्छ । भौतिक विकास र समृद्धिका धेरै सम्भावना बोकेको प्राकृतिक स्रोत र साधनले भरिपूर्ण विहादीको स्थानीयस्तरमा उपलब्ध स्रोत र साधनहरूको सदुपयोग गर्नसके उक्त गाउँ समृद्ध हुनेमा कुनै शंका छैन । गाउँ समृद्धको बिषय उठाइएरहदा यहाँका हजारौँ युवाहरु विदेशीएका छन् । ती युवाहरुलाई मातृभुमी नर्फकाई विकास,परिवर्तन र समृद्धि प्राप्त गर्न कठिन हुन सक्छ । त्यसैले पनि बाहिरीएको जनशक्तिलाई फर्काउन अब हामी लाग्नुपर्छ । बिदेशीनु बाध्यता हो तर यहाँको सम्भावनाको अध्ययन नगरी, अझै भनौँ केहीँ गर्न सकिने सम्भावना हुदाँ हुदैँ पनि प्रवासिएका धेरै युवाहरु छन् । हिजो आजका मानिस सुविधाभोगी बन्दै गए आफ्नो हैसियत बिर्सीएर सालनाल गाडिएको गाउँठाउँभन्दा सहर–बजार बस्न रुचाउनेहरुको कमी छैन यहाँ । गाउँको २ सय रोपनी बहुउपयोगी जग्गा कौडीको मुल्यमा बेचेर शहरमा १ आना जग्गा किन्ने यथार्थरहित सपना धेरैले देखेका छन् । विभिन्न दुःख, सुःखले ऋीणधनमा परि एउटा घर ठडाउनु कुनै ठुलो कुरा होईन तर त्यहाँ चल्न सक्नु,जम्न सक्नु ठुलो कुरा हो । शहर पसेपनि खान अर्गानिक पर्दोरहेछ अनि संकट परे गाउँ नै चाहिने रहेछ भन्ने उदाहरण त म पेश गरिरहन आवश्यक ठान्दिन । कयौँ उदाहरण हजुरहरु आफैले भोग्नुभएको छ, कतिले देख्नु पनि भएकोछ । सयलको गाउँ छोडी दुःखको शहर बस्ने अनि बिदेशमा हुने प्रिय मित्रहरुमा म आग्रहका साथ भन्छु, कृषि,पर्यटन,शिक्षा,स्वास्थ्य,खानेपानी,कला संस्कृति र यातायातका क्षेत्रमा यस ठाउँले विकासको गति लिदै छ । प्रिय मित्रहरु, आउँ बसेर एकछिन मनन् गरौ यहाँको सम्भावना । के गर्दा हामी सम्पन्न शाली हुन्छौँ छलफल गरौँ । आफ्नै ठाउँमा केहीँ गरौँ, तिमीहरुले बिदेशमा बगाएको पसिनाको ३० प्रतिशत पसिना यहीँ माटोमा बगाऔँ हामी जन्मेको माटोमा सुन फलाउन सकिन्छ । हामी एकताका साथ आफ्नो ठाउँलाई नमुना,समुन्नत र सम्पन्नशाली बनाउन जुटौँ । समृद्धिको दुरी धेरै टाढा छैन ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ