शुक्रबार, साउन २२ गते २०८३

घोँगी र झिँगामाछा बिक्री गरेर दैनिक एक हजार पाँच सयसम्म आम्दानी

घोँगी र झिँगामाछा बिक्री गरेर दैनिक एक हजार पाँच सयसम्म आम्दानी

मंगलबार, भदौ १८ २०८१
  • घोँगी र झिँगामाछा बिक्री गरेर दैनिक एक हजार पाँच सयसम्म आम्दानी

    भजनी नगरपालिका–८ की सोमती चौधरीलाई आजभोलि माछा मार्ने काममा भ्याइनभ्याइ छ । वर्षाको पानीले बनेका तलाउ, नदी तथा डुबान भएका क्षेत्रमा माछा मार्न प्रयोग हुने हेल्का, डेलिया (माछा मार्ने साधन) लगायत साधन बोकेर सोमती माछा तथा झिँगामाछाको खोजीमा जाने गर्नुहुन्छ । खेतीपातीको समय सकेपछि फुर्सदको समयलाई सदुपयोग गर्दै माछाको खोजीमा जाने गरेको उहाँ बताउनुहुन्छ । “घरमा खासै काम हुँदैन । फुर्सदमा समय कटाउनुभन्दा अलिकति माछा मरे पनि आफूलाई खान हुन्छ । बढी भए सुकाएर भोलिका लागि हुन्छ । त्यो भन्दा बढी भए बिक्री गरेर राम्रो पैसा आउँछ ।” उहाँ भन्नुहुन्छ, “हिउँदको समयमा अहिले सुकाएको माछा तरकारीका लागि राम्रो हुने हुँदा आजभोलिको दिनचर्या माछा मार्नमै बितेको छ ।”

    वर्षात्को समयमा थारू समुदायका लागि सोमती एउटा उदाहरण मात्र हुन । नदीमा पानीको बहाव बढेपछि थारू महिला माछाको खोजीमा हेल्का बोकेर नदीमा पुग्ने गरेका छन् । कतिपयले त्यसलाई वर्षात्को समयमा आम्दानीको स्रोत नै बनाएका छन् । “घरमा चारजना छौँ । दिनभर सबैको काम माछा, घोँगी खोज्ने हुन्छ”, भजनीकै जितेन्द्र चौधरी भन्नुहुन्छ, “केही भएन भने पनि दिनमा तीन–चार केजीसम्म सङ्कलन भइहाल्छ । त्यो बिक्री गरेपछि रु एक हजारदेखि एक हजार पाँच सयसम्म आइहाल्छ ।” उहाँले झिँगामाछा र घोँगी बेचेर साउनमा लगभग रु ६५ हजार आम्दानी गरेको सुनाउनुभयो ।

    भजनीको अधिकांश क्षेत्र डुबानमा पर्छ । कान्द्रा, मोहना, पथरैया र काढा नदीमा आएको बाढी बस्तीमा पसेपछि डुबान हुन्छ । डुबान क्षेत्रमा नदीबाट माछा आउने र ती माछाका लागि जाल थाप्ने गरिएको रञ्जित चौधरी बताउनुहुन्छ । “नदीबाट पानीसँगै सानाठूला माछा डुबान भएको खेतमा आउने गर्छन् । त्यसमा जाल हाल्यो भने दुई–तीन केजी दिनमा भेट्टाइन्छ”, उहाँले भन्नुभयो, “बिक्री गर्नका लागि बजारको समस्या छैन । नभए सुकाएर बिक्री गर्दा झन् राम्रो मूल्य पाइन्छ ।” आफूलाई खान पनि हुने अनि बिक्री गरेर पैसा पनि आउने भएपछि थारू समुदायले फुर्सदको अधिकांश समय माछाको खोजीमा बिताउने गरेको रञ्जितले बताउनुभयो ।

    बजारमा घोँगीको मूल्य प्रतिकेजी रु दुई सयसम्म छ । झिँगामाछा रु चारदेखि छ सयसम्म बिक्री हुन्छ । ठूलो माछा रु आठड सयसम्ममा खरिद गर्ने गरेको होटल व्यवसायी जीतबहादुर चौधरी बताउनुहुन्छ । उहाँका अनुसार एउटै महिलाले दिनमा १० केजीसम्म घोँगी ल्याउने गरेका छन् । तीन–चार केजीसम्म झिँगामाछा बिक्रीका लागि ल्याएर आउने गरेको उहाँको भनाइ छ । “दैनिक १०–१२ केजी घोँगी हाम्रै पसलमा खपत हुन्छ । बढी भएको अन्य होटलमा पठाउँछौँ ।” जीतबहादुरले भन्नुभयो, “यो याममा एउटै महिलाले रु ६० देखि ७० हजारसम्म घोँगी तथा माछा बिक्री गरेर आम्दानी गरेको मैले देखेको छु ।”

    फुर्सदको समयमा माछा र घोँगीबाट राम्रो आम्दानी भए पनि जोखिम त्योभन्दा बढी छ । धमिलो फोहर पानी, हिलाम्मे भएर दिनभर चर्को घामको राप स्वास्थ्यको दृष्टिकोणले निकै जोखिम छ । वर्षामा भिज्दा झन् डर हुन्छ । डर हुँदाहुँदै पनि पैसाको अगाडि सबै बिर्सने गरेको विन्दु चौधरीको भनाइ छ । “पानी तलको भुइँ देखिँदैन । अनुमानका भरमा जोखिम मोलेर हातले घोँगी खोज्नुपर्छ ।” उहाँले भन्नुभयो, “हातमा सधैँ घोँगी आउँछ भन्ने छैन । फोहर पानीमा डुबेको शरीरले कुन रोगको सङ्क्रमण निम्त्याउने हो, त्यसको ख्याल गरिँदैन ।” जोखिम मोलेरै भए पनि वर्षात्को सुरुआती चरणमा घोँगीबाट र अन्तिम चरणमा माछाबाट सोचेभन्दा राम्रो कमाइ हुने गरेको उहाँको भनाइ छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार