शुक्रबार, साउन २२ गते २०८३

मिथिलाञ्चलमा जितिया पर्व सुरु

मिथिलाञ्चलमा जितिया पर्व सुरु

सोमबार, असोज ७ २०८१
  • मिथिलाञ्चलमा जितिया पर्व सुरु

    असोज ७ महोत्तरी । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु)गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चांगअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मंगलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत सुरु भएको हो ।

    तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मंगलबार बिहान ४ बजेदेखि मंगलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभरि उपवास बस्नुपर्ने छ । बुधबारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चांगमा उल्लेख रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले बताए । 

    व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवंगत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

    भोलि बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सि (बुधबार) साँझ ५ः१५ बजे व्रत सम्पन्न गर्नेछन् । 

    सयौँ व्रतालुहरुले जिल्लाको विग्ही, रातो जंगहा, अंकुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

    व्रत बस्नु अघिल्लो दिनमै (आज) व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखासन्तानलाई पनि प्रसाद रुपमा सोही तेल लगाइदिने चलन छ । 

    व्रतको पहिलो दिन (आज) पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो)’ भनिन्छ । 

    त्यसैगरी, विधिअनुसार भोलि बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती (व्रतालु) महिलाहरु ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओँठमा लगाउनुपर्छ । प्रायः जसो महिलाहरुले ओंगठनमा च्यूरा, दही खाने गरेको पाइन्छ । 

    त्यसपछि विकट उपवास सुरु हुन्छ । आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष विकट रहेको जलेश्वर नगरपालिका–८ का पण्डित बद्रीनारायण झा बताउँछन् । 

    सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले भने, “यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व उजागर गर्छ ।” पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवंगत पितृलाई पिण्ड चढाउँछन् ।

    मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले  खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन ।

    राजा शालिवहानको राज्यमा एउटी महिलाका सातजना छोराहरुलाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन रहेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार