बिहीबार , साउन २१ गते २०८३

भूकम्पबाट क्षति भएका मध्ये पाँच लाख घरको पुनर्निर्माण सम्पन्न, भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लामा ५६ हजार घरको पुनर्निर्माण सम्पन्न

भूकम्पबाट क्षति भएका मध्ये पाँच लाख घरको पुनर्निर्माण सम्पन्न, भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लामा ५६ हजार घरको पुनर्निर्माण सम्पन्न

अखबार दैनिक
बिहीबार , असार २५ २०७७
  • भूकम्पबाट क्षति भएका मध्ये पाँच लाख घरको पुनर्निर्माण सम्पन्न, भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लामा ५६ हजार घरको पुनर्निर्माण सम्पन्न

     

    २५ असार, काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका मध्ये ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ ।

    संघीय संसदको विकास समिति तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ५ लाख ७ हजार ६ सय २३ घरको पुनर्निर्माण सम्पन्न भएको र २ लाख २ हजार ६ सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको बताउनुभयो ।

    घर पुनर्निर्माणका लागि ७ लाख ८६ हजार १ सय ४४ घरधनीले अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ६५ प्रतिशतको घर पुनर्निर्माण सम्पन्न भएको छ भने २५ प्रतिशतको घर पुनर्निर्माणको क्रममा छन् । 

    भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै ७० हजार ९७ घर पुनर्निर्माण सम्पन्न भएका छन् । नुवाकोट जिल्लामा ६४ हजार १ सय २४ र २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लामा ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन् ।

    प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले ६ लाख भन्दा बढी गुनासाहरु सम्बोधन गरेको जानकारी दिँदै प्राधिकरणको निर्णयमा चित्त नबुझे पुनरावेदन समितिमा उजुरी दिन सकिने बताउनुभयो । उहाँले भूमिहीन र सुकुम्बासी लाभग्राहीका बारेमा सबै टुङ्गो लागिसकेको र जोखिमयुक्त बस्ती स्थानान्तरणका लाभग्राहीलाई सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यवस्थापन भएको जानकारी दिनुभयो ।

    99C3F373-BC3B-4312-8330-BAB3589B0995.jpeg

    प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती पुनर्निर्माणका लागि ८६ वटा प्रस्ताव प्राप्त भएकोमा भूकम्प प्रभावित क्षेत्रका विभिन्न ठाउँमा आकर्षक एकीकृत बस्तीहरु बन्दै गरेको बताउनुभयो ।

    समितिको बैठकमा प्राधिकरणले विद्यालय पुनर्निर्माण, पुरातात्विक महत्वका सम्पदा, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन पुनर्निर्माणबारे जानकारी गराएको थियो ।

    समिति सभापति कल्याणीकुमारी खड्काले निजी आवास, विद्यालय पुनर्निर्माण राम्रोसँग अघि बढेको भन्दै सम्पदा पुनर्निर्माणलाई अझ छिटो अघि बढाउन निर्देशन दिनुभयो । उहाँले प्राधिकरणको सयमावधिबारे छिट्टै टुङ्गो लगाउनु पर्ने बताउनुभयो ।

    4FB584D0-B3C1-40D3-ABAA-E137C1013187.jpeg

    प्राधिकरणको म्याद आगामी पुसमा सकिं‌दैछ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ मा नेपाल सरकारले आवश्यक ठानेमा एक वर्ष थप्न सक्ने प्रावधान छ ।

    बैठकमा सांसदहरुले गुम्बा पुनर्निर्माणमा विशेष ध्यान प्राधिकरणलाई आग्रह गर्नु भएको थियो । प्राधिकरणले ४ सय २ वटा गुम्बाको मर्मत सम्भारको काम भएको र पुनर्निर्माण गर्नुपर्ने १ सय १७ वटा गुम्बा पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षमा कार्यक्रम परेको जनाएको छ ।

    बैठकमा सांसदहरु जिपछिरिङ लामा, यज्ञराज सुनुवार, रामबहादुर विष्ट,  गणेश पहाडी, रंगमती शाही, गणेश पहाडीले निजी आवास, सम्पदा, धरहरा, रानीपोखरी, सिंहदरबार पुनर्निर्माण लगायतबारे जिज्ञासा राख्नु भएको थियो ।

    प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विकास समिति लगायत सबैको सहयोगले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल  भएको भन्दै राम्रा काममा अपनत्व लिन र कमीकमजोरी सुधारका लागि सुझाव दिन आग्रह गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार