काठमाडौं । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एंव सहरी विकास मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हु्न् ।
मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।उनले भने, ‘आजको यस पदबहालीको पहिलो निर्णय चाँही डेडिकेटेड र ट्रंकलाइनको विद्युत महशुलको जुन बक्यौता छ, त्यो बक्यौता रकम असुल्ने निर्णय भएको छ ।’ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले बक्यौता असुल्ने प्रयास गरेपनि तत्कालीन सरकारले यसमा रोक लगाएको थियो ।
त्यस्तै उनले अब कसैले र कुनैपनि निकायले भ्रष्टाचार र अनियमितता गरेको कतै पनि भेटियो भने कडा भन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिए । भ्रष्टाचार नियन्त्रणको विषयलाई आफूले जीवन मरणको विषयको रुपमा लिएको पनि उनको भनाई छ ।
‘अब कसैले र कुनैपनि निकायले भ्रष्टाचार र अनियमितता गरेको कतै पनि गरेको भेटियो भने हामी कडा भन्दा कडा कारबाही गर्ने छौं । आन्दोलनको प्रमुख विषय पनि भ्रष्टाचार थियो । यो विषयलाई जीवन मरणको विषयको रुपमा लिएको छु । यो ठूलो चुनौती लिएर म आएको छु ।’