गृह एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानबिन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । सोमबार सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरूलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन् ।
जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानुनी राज्यको प्रत्याभूति दिलाउन पनि सरकारले सो क्रममा भएको बल प्रयोगको घटनाको निष्पक्ष छानबिनको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको गृहमन्त्री अर्यालको भनाई थियो ।
उनले जेनजी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै त्यसक्रममा भएका भएका जनधनको क्षतिलाई सबैले मिलेर सम्बोधन गर्नुपर्ने बताए । गृहमन्त्री अर्यालले नयाँ पुस्ताको मागअनुसार अघि बढ्न पनि कर्मचारीहरूलाई निर्देशन दिए । मन्त्री अर्यालले आन्दोलनका क्रममा भएका शहीदको सम्मानमा सरकारले कुनै कमी हुन नदिने पनि बताए ।