बिहीबार , असोज ३ गते २०८२

०४६ को परिवर्तन ल्याउन भूमिका खेलेको चाक्सीबारी जलाइयो : सिंह

०४६ को परिवर्तन ल्याउन भूमिका खेलेको चाक्सीबारी जलाइयो : सिंह

अखबार दैनिक
बिहीबार , असोज ३ २०८२
  • ०४६ को परिवर्तन ल्याउन भूमिका खेलेको चाक्सीबारी जलाइयो : सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘जेनजी’का नाममा आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानबिन गरी कारबाही हुनुपर्नेमा जोड दिएका छन् । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको चाक्सीबारीस्थित निजी निवासको बिहीबार (असोज २) अनुगमन एवं निरीक्षणपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

    गणेशमान सिंहको घरलाई राजनीतिक व्यक्तिहरूले मन्दिरका रूपमा लिने गरेका उनले उल्लेख गरे । आगजनी र तोडफोड गरी उक्त घर नष्ट पारिएकामा उनले चिन्ता व्यक्त गरे ।

    उनले जेनजीले इतिहास मेटाउन आन्दोलन नगरेको बताए । जेनजीको आवरणमा आपराधिक मनसाय बोकेका व्यक्तिहरूले यस्तो क्रियाकलाप गरेको उनले आरोप लगाए ।

    उनले ०४६ सालको परिवर्तन ल्याउनमा चाक्सीबारीले भूमिका खेलेको बताए । किसुनजी (कृष्णप्रसाद भट्टराई)को आश्रम, विराटनगरस्थित कोइराला निवासलगायत कांग्रेसका पुराना इमानदार नेताहरू बस्ने घरहरू जलाइएको उनले उल्लेख गरे ।

    आफूहरू विधिको शासनका निम्ति लडिरहेको उनले बताए । विधिको शासन स्थापित गर्न आगजनी र तोडफोड गर्नेमाथि कारबाही हुनुपर्नेमा उनले जोड दिए ।

    आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूमा उनले श्रद्धाञ्जली व्यक्त गरे । समयको मागबमोजिम दलहरू संस्थागत भएर अघि बढ्न जरुरी रहेको उनले औँल्याए । शून्यतामा कसैले पनि केही गर्न नसक्ने उनले बताए ।

    प्रकाशमान सिंहको भनाइ पढ्नोस्–
    धेरैले गणेशमानजीको घर भएकाले यसलाई राजनीतिक मन्दिरको रूपमा लिने गर्नुहुन्छ । मलाई पनि धेरैले भन्नुभएको छ, कतैबाट काम नभएपछि बुबाआमाको जस्तो गरी आउने ठाउँ यही हो । अहिले पनि अरू ठाउँमा जान्छ जान्छ, अन्तिममा केही नभएपछि आउने ठाउँ यही हो । जेनजीले इतिहास मेटाउनुपर्छ भनेर गरेको होइन, तर घुसपैठ भयो । २०४६ को जनआन्दोलन सुरु गर्ने ठाउँ यही हो । ०४६ को परिवर्तन ल्याउनमा चाक्सीबारीले खेलेको भूमिकालाई अब अहिलेको मुभमेन्टको समयमा जलाइएको छ । नेपाली कांग्रेसका इमानदार नेताहरूलाई सम्मान गर्ने ठाउँ हो । कांग्रेसका इमानदार नेताहरू बस्ने घरहरू जलाइएको छ । के गर्न खोजेको भन्ने स्पष्ट छ । हामी विधिको शासनका लागि लडेका हौँ । विधिअनुसार आगजनी र तोडफोडको छानबिन हुनुपर्छ । क्षति धेरै भएको छ । स्वच्छ किसिमका मान्छेहरूलाई हतोत्साही गर्न हातपात गर्ने र घर जलाउने काम गरिएको छ । बस्ने ठाउँ नभए पनि दुःख होला, तर यसको राम्रोसँग छानबिन होस् । आन्दोलनको काममा सहादत प्राप्त गर्नेहरूमा श्रद्धाञ्जली अर्पण गर्दछु, परिवारजनमा समवेदना प्रकट गर्दछु । दलहरूलाई मिनिमाइज गर्ने दुष्प्रयास गरिएको छ । यो डेमोक्रेसीमा दलहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । समयको मागबमोजिम दलहरू संस्थागत गरेर अघि बढ्नुपर्छ । मिलेरै देश बनाउने हो । राज्यविरुद्ध दुष्प्रयास गरिएको छ । जलाएर केही हुने होइन । शून्यतामा कसैले केही गर्न सक्दैन । न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ