बिहीबार , साउन २१ गते २०८३

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्काविरुद्ध तीन मुद्दा : २४ दिनदेखि हिरासतमा

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्काविरुद्ध तीन मुद्दा : २४ दिनदेखि हिरासतमा

अखबार दैनिक
आइतबार, भदौ २१ २०७७
  • लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्काविरुद्ध तीन मुद्दा : २४ दिनदेखि हिरासतमा

    काठमाडौं : रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का २४ दिनदेखि हिरासतमा रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापले साउन ३० गते मध्यान्ह मन्थलीबाट शरीर बन्धक कसुरमा पक्राउ गरेको थियो। उनी पक्राउ परे लगत्तै थप दुई वटा मुद्दा दर्ता भएका थिए।

     

    खड्कामाथि परेको तीन वटै मुद्दाको प्रहरीले आवश्यक अनुसन्धान र माग दावीसहित जिल्ला सरकारी वकिलको कार्यालय रामेछापमा फाइल बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र पौडेलले जानकारी दिए। ‘अब भेटिएको तथ्य र प्रमाणको आधारमा अदालतमा विश्लेषण होला।’ उनले भने, ‘अदालतबाट तेस्रो पटक म्याद थप गरेको म्याद आज सकिन लागेकाले अदालतमा फाइल अगाडि बढ्न सक्छ, नत्र दुई दिन म्याद बाँकी भएकाले थप्नुपर्ने हुन्छ।’

    उनका अनुसार स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी शरीर बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न दबाब दिएको उजुरीका आधारमा अध्यक्ष खड्कालाई पक्राउ गरिएको थियो।

    उपभोक्ता समिति गठन गरी गाउँपालिकाबाट धोबी बजार क्षेत्रमा सडक तथा नाला निर्माणका बजेट प्राप्त भएको थियो। गाउँपालिकाबाट उपभोक्ता समितिको खातामा रकम आइसकेपछि खड्काले चेकमा हस्ताक्षर गर्न दवाब दिएको र नगरेपछि धम्कीपूर्ण भाषा प्रयोग गरेको समितिका एक सदस्यले जानकारी दिए। उनले समितिका पदाधिकारीले हस्ताक्षर गर्न नमानेपनि पछि खातामा रहेको रकम निकालिसकेको बताए। 

    गाउँपालिकालाई भनेर व्यक्तिको नाममा जग्गा पास

    प्रहरीले शरीर बन्धकको आरोपमा पक्राउ गरेका अध्यक्ष खड्काबाट आफू ठगिएको भन्दै स्थानीय एक वृद्धले मुद्दा दर्ता गराएका थिए। लिखुतामाकोशी गाउँपालिका-३ का वृद्ध शेरबहादुर खड्काले गाउँपालिकाको नाममा पास गर्ने भन्दै अध्यक्ष खड्काको आफ्नो नाता पर्ने महिलाको नाममा पास गरेको र रकमपनि नपाएपछि मुद्धा दिएका हुन्।

    शेरबहादुरकी जेठी बुहारी अम्बिका खड्काले गाउँपालिकाले कार्यालय राख्नका लागि जग्गा चाहेको खण्डमा केहि जग्गा निशुल्क र केहि जग्गा शुल्कसहित विक्री गर्न आफूहरु तयार भएको भएपनि पालिका अध्यक्ष खड्काले झुक्याएर अर्कै व्यक्तिको नाममा पास गरेपछि उजुरी गर्नुपरेको बताइन्। ‘जग्गा दिने दाता कोही नभएपछि स्थानीय सरकार हो, विकास आउँछ भने अलिकति खुल्ला पनि छ गाउँपालिकालाई जग्गा दिउँ न त भनेर बुबालाई पनि पहल गरेका थियौं त्यतिबेला’, उनले अन्नपूर्णसँग भनिन्, ‘तर आफूहरुलाई थाहै नदिइ अध्यक्ष खड्काले गाउँपालिकालाई पास गर्ने भनेर बुबालाई लगेका थिए। पछि मालपोतमा गएर बुझ्दा गाउँपालिकाको नाममा रहेनछ, सुनिता गुरुङको नाममा जग्गा पास गरेको जानकारी पाइयो।’

    ‘श्रीमान् विदेशमा भएको र पछि आएर मालपोत कार्यालयमा गएर बुझ्नुभयो, गाउँपालिकाको नाममा जग्गा रहेनछ।’उनले भनिन्, ‘बुबालाई कसको नाममा पास गरेर आउनुभयो भनेर सोध्दा गाउँपालिकाको नाममा पास गरेँ भनेपनि जग्गा अरुकै नाममा भएकाले आफूहरु ठगिएको थाहा भयो।’ 

    उनले जग्गा दिने कुरा गर्दा गाउँपालिका अध्यक्ष खड्काले सरकारी दर अनुसार  अनुसार पैसा दिने भनेको बताइन्।  ‘उहाँले सरकारी रकम आउँछ भन्नुभयो, हामीले सरकारी रेट आए ठिकै छ गाउँपालिकालाई हो भनेर ७/८ रोपनी जग्गा मात्रै दिने सोचेका थियौँ। ’ उनले भनिन्, ‘जग्गाको ५० लाख रुपैयाँ थैली हालेको रहेछ, ससुराबाले ५० रुपैयाँ पनि आफूले नपाएको बताउनुभएको छ।’ उनका अनुसार परिवारलाई जानकारी नै नदिई ससुराबालाई समेत झुक्याएर २१ रोपनी जग्गा अध्यक्ष गोविन्दले अरुकै नाममा पास गरेको हो।

    यता लिखु तामाकोशी गाउँपालिका-२ सैपुका वडा अध्यक्ष पदम तामाङले शेरबहादुरको परिवारले गाउँपालिकाको कार्यालयका लागि जग्गा दिन गाउँपालिकामा निवेदन दिएपनि जग्गा लिने विषयमा अहिलेसम्म कार्यपालिका बैठकमा छलफल नभएको बताएका छन्। ‘धैरै पहिले गाउँपालिकामा निवेदन आएको हो। पैसा लिएर वा नलिई, शेरबहादुरको वा अरु कसैको गाउँपालिकाको नाममा जग्गा किन्ने भन्ने विषयमा बैठकमा छलफल भएको छैन। गाउँपालिकाबाट बजेट निकासा हुने कुरै भएन’उनले भने, ‘गाउँपालिका अध्यक्षले के, कसरी उहाँका परिवारसँग छलफल गरेर किनबेचमा संलग्न हुनुभयो, जानकारी भएन।’ 

    बलात्कारको आरोपमा मुद्दा

    यसैबीच अध्यक्ष खड्कालाई एक किशोरीले बलात्कारको आरोपमा मुद्दा दिएकी छन्। एक महिलाले दश महिना अघि आफूलाई खड्काले बलात्कार गरेको अभियोग लगाउँदै बलात्कारको मुद्दा दर्ता गराएकी थिइन्। कानुनअनुसार बलात्कारको अभियोगमा एक वर्षसम्म मुद्दा दर्ता गर्न पाइने प्रावधान छ। प्रहरीले आवश्यक तथ्य र प्रमाण केलाउँदै अनुसन्धान सकेपछि फाइल सरकारी वकिलको कार्यालय रामेछापमा बुझाएको छ।
    अन्नपूर्णपोष्ट बाट 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार