आइतबार, भदौ १४ गते २०८३

यसरी नाम रहन गयो पूर्तिघाट, रानीपानी,भतेरपाटा । पैयुँ राज्य इतिहास

यसरी नाम रहन गयो पूर्तिघाट, रानीपानी,भतेरपाटा । पैयुँ राज्य इतिहास

अखबार दैनिक
शुक्रबार, असोज १६ २०७७
  • यसरी नाम रहन गयो पूर्तिघाट, रानीपानी,भतेरपाटा । पैयुँ राज्य इतिहास

    शरण विक्रम मल्ल

     

     

    चैते दशैँ मानेर राजा खोज्न गएका गन्जु आले, पीउर राना, शेरु चितौरे र बदल थापामगरको बर्खा सिद्धिन खोज्दा पनि अत्तोपत्तो थिएन। कालो निलो भएर काली गण्डकी बगी रहेकी थिइन्, राजाको स्वागतमा नयाँ बनाईएको टुनीको रातो डुंगा दिनको एकदुई पटक कालिको ओल्लो किनार र पल्लो किनार गरिरहन्थ्यो । राजा कहिले खोजि ल्याउलान र काली गण्डकीको सयर गराउन पाईएला भनि नयाँ सुन्दर डुंगाले कुरेको महिनौं बितिसकेको थियो। आले, राना, चितौरे र थापा मगर मुखियाहरुले अह्राएका मान्छेहरुले पालो बाँडेर डुंगा कुरिरहन्थे। 

    पैयुँ राज्य क्षेत्र शुरुमा बिशाल लिच्छवी राज्य अन्तर्गत पर्दथ्यो। लिच्छवीकालको अन्त्य पछि बल्डेङ्ग गढी शासित हुन पुग्यो र पछि पाल्पाली राजा मुकुन्द सेनले बल्डेङ्ग गढ़िलाई समाप्त पारिदिए पछि चार थुम आले, राना, चितौरे र थापामगरले संयुक्त हैकम चलाएका थिए। तर यिनीहरुवीच सधै झगडा भैरहन्थ्यो। लेकबेंसी मिलेको, जे रोपे पनि राम्रो फल्ने, उब्जाउ भूमि, खेतीपातीको लागि प्रयाप्त जल, गाई बस्तुलाई रसिलो-पोसिलो चरान, हावापानी उपयुक्त भएर पनि प्रगति हुन सकिरहेको थिएन। 
    ‘कंगालको घरमा दंगल’ भने झैँ सानो सानो कुरामा आपसी कलह भै रहन्थ्यो। कुनै क्षेत्रीय बंशी राजपुतलाई खोजि ल्याएर राजा बनाउन पाए उन्नति हुन्थ्योकि भन्ने सोच्दथे कहिले काही ती मुखियाहरु। 
    यहि कालमा उत्तर तिरका निसेल भुजेल भनिने चारहजार पर्वतका अगुवा मगरहरुले रुकुम राज्यको उन्नतिबाट लोभिएर आपसी सल्लाह मसौरा गरी जुम्ली राजा मले बमका सन्तान, जैतु बमशाहीका बालक छोरा आनन्द बमलाई मागी ल्याएर राजा स्थापना गरेका थिए । चार हजार पर्वतबाट सोह्रहजारको जग बसाल्दै थियो। आपसी झगडाबाट हैरान भएर एकदिन चार थुम मगर नाइकेहरु पनि मोतो बसे, भएन अब राजा नखोजी भएन, सल्लाह मिल्यो । चारथर मगर मुखियाहरुले चैते दशैंको साईतमा चारजना तन्नेरीहरुलाई राजा खोज्न पठाउने निर्णय गरे। 

    राजाको खोजीमा ती तन्नेरीहरु कहाँ कहाँ पुगेनन्, राजा पाउन सजिलो थिएन। हिउंदमा निस्केका बर्खा लाग्न आँटीसक्यो राजा पाईने हो वा होइन, घरिघरि चारै जनाले सोच्दथे कतै रित्तै फर्कन पर्ने त होईन ! आखिर तिनीहरु हालको उत्तर प्रदेशको बांसी गाउँमा पुग्छन्। त्यस गाउँमा सेन बंशीय राजपुत राजा हुन्छन, उनैकोमा पुगी ‘हाम्रो राजा थाप्न हजुरका एकजना छोरा हामीलाई बक्सन पर्यो’ भनि बिन्ति बिसाउँछन् । राजालाई उनीहरुको कुरा चित्त बुझे पछि आफ्ना राम सिंहनामका जेठा छोरा दिन त मन्जुरी दिन्छन तर मनाउने तिमीहरुको जिम्मा भन्छन्। यसरी केहि दिन बस्न उनीहरु बाध्य भए । एकदुई महिना बसे पछि युवराजको आनीबानी बुझ्न सहज भयो, दामली जस्ता उमेरका हिसाबले पनि छिटै साथी बन्न गाह्रो भएन । आपसी विश्वास बढ्यो, युवराज राम सिंहले आफ्नी दोजिया पत्नी सहित आउन सहमति दिए । 

    यसरि बांसीबाट राजाका छोरा रामसिंह प्रताप सेन र उनकी गर्भिणी पत्नी ईन्द्रावती शुभ साईत निकालेर पैयुँ राज्यको लागि निस्कनछन। भारी जीउकी युवराज्ञीको नौ महिना लागिसकेको थियो एकदिनको बाटो तीनदिन लगाएर काट्नु पर्थ्यो। युवराज्ञीको स्याहार सुसारमा बाँसीबाट पनि आवश्यक जनको व्यवस्था भएकै थियो। 

    आखिर युवराज र गर्भवती रानी धेरै दिन हिडेर कृष्ण गण्डकी तटमाआई पुग्छन् । यो खबर बिजुली झैँ बाच्छा बिहादी हुदै सारा पैयुँ खोला भरी खबर फैलिन्छ। सुन्ने जति काली नदी तिर हावाको गतिमा दौडन थाल्छन्। राजा खोज्न गएका गन्जु आले , पीउर राना, शेरु चितौरे र बदल थापामगर नाम गरेका मगर युवा नाइकेहरुले जतन साथ टुनीरुखको काठबाट तयार पारेको रातो डुंगामा बसाली तेज बेगमा बगेको कृष्ण नदी पारगराई वारी किनारमा ल्याई पुर्याए। किनारमा उत्रनु पनि, रानीलाई असहज हुन्छ। प्रसव बेथा शुरु हुन्छ, रानीले छोरो जन्माउछिन्। त्यति बेलासम्म वारी काली गण्डकी किनारमा सयौं मानिस आफ्ना राजारानीलाई हेर्न पुगिसकेका थिए। मगर नाइकेहरु लगायत सम्पूर्णले जयजयकार गाउँछन् । नवजात राजकुमारलाई सबै भन्दा जेठा मुखियाले काखमा लिन्छन, राजा रानीलाई काँधमा राखी नदि किनारबाट जयजयकारको ध्वनि सहित बिहादी उकाल्छन्। रानीले पुत्र जन्माएको तटलाई ‘पुत्र–घाट’ नाम राख्छन्, अहिले यहि पुत्रघाटलाई ‘पूर्तिघाट’ भन्न थालिएको छ। 

    विहादीमा एघार दिनसम्म राजारानीलाई राखियो । यहाँको पँधेरो जहाँ  सुत्केरी रानी र नवजात बालकलाई नुहाउने गरियो त्यस स्थलले रानीपानीको नामले प्रशिद्धि पायो । न्वारानमा नवयुवराजको नाम लाभसिंह प्रताप सेन जुर्दछ। सूतक चोखिए पछि बाच्छा–बिहादीदेखि बालकोटसम्म उराम, बेउलिवास, टकलाक, त्रिबेणी, हुवास, पाटनेथोक, डांडाथोक, गेडीखोला, भोर्ले, सरुंगखोला, सादने, सित्ले, अर्गौदी, होर्सान्ग्दी, सुबेर्दीखर्क, भोक्सिंग, देउरालीखोला आदि दुईदर्जन भन्दा बेशी गाउँका रैतीहरुलाई राजा आएको हर्खमा भोज भतेर लगाइयो। यस पछि यो ठाउँको नाम ‘भतेरपाटा’ रहन गयो। राजा रामसिंह प्रताप सेनले झन्डै ४८ वर्ष पैयुँ राज्यको शासन गरे, चारथरी मुखियालाई चारकाजी बनाई चार क्षेत्रको क्षेत्रपाल बनाई जिम्मेवारी दिए। रीतिथीति बसाले, खेतीपाती पशुपालनको तरिका सिकाए, चाडपर्वको प्रचलन बसाले, जनतामा खुसहाली आयो । समृद्ध पैयुँ राज्यको आधारशीला तयार पारे। यहि आधारशीलामा सेनहरुले गौरवशाली सात पुस्तासम्म पैयुँ राज्यमा सुशासन गरे।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ