काठमाडौं । निर्देशक नारायण रायमाझीको नयाँ फिल्म ‘बसन्ती’ निर्माण हुने भएको छ। शुक्रबार ललितपुरको कार्यविनायक मन्दिरमा फिल्मको मुहूर्त पूजा गरिएको छ।
‘गोर्खापल्टन’ र ‘परदेशी’का दुई श्रृंखलापछि रायमाझीको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो। फिल्मको छायांकन शनिबारदेखि काठमाडौंमा सुरु हुने जनाइएको छ।
फिल्ममार्फत चर्चित लोकदोहोरी गायक तथा संगीतकार खेम सेन्चुरीले शीर्ष अभिनेताका रूपमा डेब्यू गर्दैछन्। यसअघि ‘ए मेरो हजुर ५’ मा पार्श्वसंगीतकारका रूपमा फिल्म क्षेत्रमा प्रवेश गरेका सेन्चुरीको ‘बसन्ती’ अभिनयतर्फको पहिलो फिल्म हुनेछ।
फिल्ममा सेन्चुरीसँगै टेरिया मगर, सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजनसिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, विजया पौडेल र हरि अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ।
‘बसन्ती’को पटकथा लोकदोहोरी संगीतकर्मी रमेश बीजीले लेखेका हुन्। फिल्ममा नारायण रायमाझी र बीबी अनुरागीको संगीत रहनेछ।
फिल्मको छायांकन काठमाडौं, पाल्पा, जनकपुर, बुटवल तथा भारतका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस