काठमाडौं । दसैंको समयमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएकाले नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला निकायहरूको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
निर्णयअनुसार आगामी २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।
दसैंका बेला ठूलो संख्यामा सर्वसाधारण राजधानीबाट घर फर्किने तथा राजधानी भित्रिने भएकाले सडकमा यात्रुवाहक सवारीसाधनको चाप अत्यधिक हुने गर्छ । यस्तो अवस्थामा ठूला मालवाहक सवारीका कारण हुने सम्भावित जाम र दुर्घटनाको जोखिम कम गर्न रोक लगाउने निर्णय गरिएको हो ।
तर अत्यावश्यक वस्तु बोकेका सवारीसाधनलाई भने यो प्रतिबन्ध लागू हुने छैन । खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन निर्वाध सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।
दसैंको यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सडकमा सवारी व्यवस्थापनलाई प्राथमिकता दिइएको विभागले जनाएको छ ।
ठूला मालवाहक सवारीसाधनको आवागमनमा लगाइएको रोकले दसैंको मुख्य आवागमन अवधिमा नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा हुने सम्भावित ट्राफिक जाम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस