असोज १० काठमाडौं । कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पुख्र्यौली जग्गामा निर्माण गरिएको नयाँ घरमा सरेका छन्।
चितवनको भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा बनेको एक तले नयाँ घरमा प्रचण्ड र पत्नी सीता दाहाल गृह प्रवेश गरेका हुन्।
यसअघि उनी भाडामा बसेको र नयाँ घर बनाएको क्षेत्र शिवनगरभित्रै पर्छन्। चितवन क्षेत्र–३ स्थित आफ्नै निर्वाचन क्षेत्रमा प्रचण्डले घर बनाएका हुन्।
एकतले घर बनाइएको ६ कठ्ठा जग्गा प्रचण्डको पैतृक सम्पत्ति रहेको बताइएको छ। यसअघि प्रचण्ड काठमाडौंबाट चितवन जाँदा भरतपुरको शिवनगरस्थित भाडाको घरमा बस्ने गरेका थिए।
४ मंसिरको निर्वाचन नजिकिएसँगै प्रचण्ड आफ्नो क्षेत्रमा केन्द्रित छ। उनले विकास निर्माणका कामको उद्घाटन र शिलान्यासदेखि पार्टी प्रवेशलाई तीव्र बनाएका छन्। बिरामी पत्नी सीतासँगै उनी चितवन पुगेका छन्।