देशकै मध्य भागमा अवस्थित चितवन जिल्लामा पछिल्लो वर्ष अतिविशिष्ट, विशिष्ट, मध्यम विशिष्ट व्यक्तिहरुको आवागमन हुने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ३१५ पटक अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको आवागमन भएको छ ।
जसमध्ये अतिविशिष्ट व्यक्ति ४ पटक आएका छन् भने विशिष्ट व्यक्तिहरु ६० पटक, मध्यम २४८ र विदेशी ३ पटक आवागमन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोबिन्द पुरीले जानकारी दिए । उनले सबै खालका व्यक्तिहरुलाई सुरक्षा भने दिन नपरेको बताए । ‘कतिपयका आफ्नै सुरक्षाकर्मी भएकाले हामीले सुरक्षा दिन परेको छैन, आवश्यकताका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने गरेका छौं’–प्रहरी प्रमुख पुरीले बताए ।
त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा भने ११४ पटक अतिविशिष्टि तथा विशिष्ट व्यक्तिहरु आएका थिए । जहाँ अतिविशिष्ट मात्रै ६ पटक आएका छन् भने विशिष्ट व्यक्तिहरु १० पटक आएका छन् । त्यसैगरि आर्थिक वर्ष २०७९/८० मा भने २७१ पटक अतिविशिष्टि तथा विशिष्ट व्यक्तिहरु आएका थिए । जहाँ अतिविशिष्ट मात्रै ९ पटक आएका छन् भने विशिष्ट व्यक्तिहरु ९४ पटक आएका छन् । मध्यम खालका १६२ र विदेशी ६ पटक आएका छन् ।
संघीय राजधानी काठमाडौंबाट नजिकको जिल्ला र यातायातको सहज पहुँचको जिल्ला भएकाले पनि भीआइपीहरु आवागमन हुने क्रम बढेको हो ।
नेपालमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई अतिविशिष्ट व्यक्तिको रुपमा राखिएको छ भने मुख्यमन्त्री, संघीय मन्त्री, प्रदेश प्रमुख, उच्च न्यायालयका मुख्य न्यायाधीश, संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, पूर्व राष्ट्रपती र प्रधानमन्त्रीहरू, सेनाका प्रधानसेनापति, सुरक्षा निकायका उच्च अधिकारीहरू, विदेशी कूटनीतिक नियोगका प्रमुखहरू (राजदूतहरू) लाई विशिष्ट व्यक्तिको रुपमा सुरक्षा दिने गरिन्छ ।
त्यस्तै मध्यम विशिष्ट व्यक्तिहरु पनि धेरै आउने गरेका छन् । त्यस्ता व्यक्तिहरुमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरु, प्रदेशका मन्त्रीहरू, संघीय सचिवहरु, स्थानीय तहका प्रमुखहरू (नगरपालिका/गाउँपालिका अध्यक्ष, मेयर आदि), संगठित निकायका अध्यक्ष, वरिष्ठ राजनैतिक नेताहरू (जसले तत्कालीन कुनै पदमा कार्यरत नभए पनि पार्टीमा प्रभावशाली स्थान राखेका छन्) लाई लिने गरिन्छ ।