मंगलबार, असोज २० गते २०८३

बालेनको सम्भावित भारत भ्रमणले ततायो संसदीय समिति, दिल्लीका लागि प्रस्तावित राजदूतलाई प्राथमिकता दिन माग

बालेनको सम्भावित भारत भ्रमणले ततायो संसदीय समिति, दिल्लीका लागि प्रस्तावित राजदूतलाई प्राथमिकता दिन माग

अखबार दैनिक
मंगलबार, असोज २० २०८३
  • बालेनको सम्भावित भारत भ्रमणले ततायो संसदीय समिति, दिल्लीका लागि प्रस्तावित राजदूतलाई प्राथमिकता दिन माग

    काठमाडौं, २० असोज । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्भावित भारत भ्रमणबारे संसदीय सुनुवाइ समितिमा चर्चा भएको छ। भारत भ्रमणको तयारी भइरहेको भए दिल्लीस्थित नेपाली राजदूतको नियुक्तिलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाउनुपर्ने विषय समितिमा उठेको हो।

    हाल भारतका लागि नेपाली राजदूत नियुक्त भएका छैनन्। सरकारले भारतका लागि राजदूतमा डा. निश्चलनाथ पाण्डेको नाम सिफारिस गरेको छ। पाण्डेसहित १३ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढिरहेको छ।

    मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी सदस्यहरूलाई वितरण गरिएको थियो। साथै, प्रस्तावित राजदूतहरूले पेस गरेका कार्ययोजनासमेत सदस्यहरूलाई उपलब्ध गराइएको छ।

    सुनुवाइको मिति तय गर्ने क्रममा प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणको विषय उठेको हो। समिति सभापति बोधनारायण श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमण हुने जानकारी आफूलाई भए पनि भ्रमणको मिति भने निश्चित नभएको बताए।

    नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर बिष्टले प्रधानमन्त्री भारत भ्रमणमा जाने निश्चित भएको भए भारतका लागि प्रस्तावित राजदूतको सुनुवाइ तत्काल गर्न सकिने बताए। उनले दिल्लीस्थित राजदूतलाई प्राथमिकतामा राखेर सुनुवाइ गर्नुपर्ने धारणा राखे।

    उनले संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि पनि सम्बन्धित मुलुकबाट एग्रिमो लिनुपर्ने भएकाले प्रक्रिया ढिला गर्न नहुने बताए। विगतमा कतिपय राजदूतको एग्रिमो आउन समय लागेको तथा एग्रिमो नआएपछि अर्को व्यक्तिलाई नियुक्त गर्नुपरेको अवस्थासमेत उनले स्मरण गराए।

    नेकपा एमालेकी संसदीय दलकी उपनेता तथा समिति सदस्य पद्मा अर्यालले पनि प्रधानमन्त्रीको भारत भ्रमण तय हुँदैछ भने प्रस्तावित राजदूतको सुनुवाइलाई प्राथमिकता दिनुपर्ने बताइन्। उनका अनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा राजदूतको भूमिका महत्वपूर्ण हुने भएकाले समयमै नियुक्ति आवश्यक छ।

    रास्वपा सांसद दीपक बोहराले पनि प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा सम्बन्धित देशमा नेपाली राजदूत हुनु आवश्यक रहेको बताए। उनले विभिन्न मुलुकमा समस्यामा परेका नेपालीको उद्धार तथा सहयोगका लागि पनि राजदूतको भूमिका महत्वपूर्ण हुने धारणा राखे।

    समितिमा भएको छलफलपछि प्रस्तावित १३ जना राजदूतको संसदीय सुनुवाइ असोज २६, २७ र २८ गते गर्ने मिति तय भएको छ। ती तीन दिनमा सबै १३ जना प्रस्तावित राजदूतको सुनुवाइ गरिनेछ।

     
     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ